साहित्य : ‘भुसुना चो यात्रा’

news-details

आकाशले अँध्यारो अनुहार लाएको थियो । आकाश धुम्मिएको देख्दा मन पनि धमिलिन खोजेको थियो । साथीहरूका उज्यालिएका अनुहारको प्रकाशले मलाई अछुतो बनाएन । आकाश अँध्यारिनुसँग कोही कसैलाई सरोकार थिएन । हाम्रो खुसी देखेर त झन आकाशको अनुहारमा कालो मोसो थपिदै गयो । यता बालाजु बसपार्कमा दिनभर जोतेर थलिएका, हिलाम्मे र धुलाम्मे बूढा गोरु जस्ता थोत्रा गाडीहरू आँखा मिच्दै यात्रु कुरिरहेका थिए । हामी भने त्रिशुलीतिरका घर फर्किदै गरेका लाहुरे जस्ता देखिन्थ्यौँ । खुसी र उत्साह पनि उस्तै थियो । पछाडी भिरेका व्याग पनि उस्तै थिए । बाटो खाजाको जोरजाम पनि उस्तै उस्तै थियो ।

सबै साथीहरू झुरुप्प भेला भयौँ र बालाजुबाट पैदल यात्रा शुरु ग¥यौँ । काठमाडौँको उत्तर पश्चिममा अवस्थित रानीवनको शीर जामा चो नै हाम्रो प्रमुख गन्तव्य स्थल थियो । बालाजु बाइपासलाई छोडेर हामी सबै ककनी जाने मूल बाटो नछोडी तेर्सै रानीवनको काखै काख गयौँ । रानीवनलाई त मंगली बज्जैले बाँधेको मैलो , कतै फाटेको पटुका जस्तो बारले बेरिएको थियो । रानीवनको पुरानो बारले मलाई यस्तै अनुभूति गरायो । हामी जामा चो जाने प्रवेशद्वारमा पुग्यौँ । जहाँ पहरेदारहरूको लामै केरकारमा परियो । तत्पश्चात हामी रानीवनभित्र प्रवेश ग¥यौँ ।

सबैका अनुहार पूर्ण चन्द्र झै देखिएका थिए । प्राकृतिक सुन्दरताको आश्वादनको काल्पनिकताले मनलाई प्रफुल्लीत बनाएको थियो । अरण्यभित्रका सुन्दर, शान्त र सौम्य पत्कर र गोरेटा बाटासँग सँगै यात्रा गर्ने र तिनै भावलाई अक्षरमा उत्रार्ने हाम्रो यात्राको मुख्य उद्देश्य थियो । हामी सबैका मार्गदर्शक नियात्राकार युवराज नयाँघरे सर र यस पदयात्रा कार्यक्रमका संयोजक कमल ढकाल सर लगायत हामी सबै एकै ठाउँमा बसेर युवराज सरका सुझाब लियौ र अघि बढ्यौँ ।

हामीले पैदल मार्गको शुरुमै एउटा सुन्दर रुख भेट्यौँ । रुखका हाँगाका साथै रुखका हात पनि रहेछन् । प्रायःबोटविरुवामा पात सहितका हागाँका टुप्पामा फल लाग्छ नै । त्यस बोटमा पात सहितका हाँगा भने आकाशतिर फर्केर ‘ह्यान्डस् अप’ पोजिसनमा रहेका थिए ,फल थिएनन् । ह्यान्डस् डाउन भएका हातहरूमा भने टन्नै फल लागेका थिए । सायद यो खनायो वा खनायाकै कुनै प्रजाती हुनुपर्छ । यो बोट निकै सुन्दर मनमोहक साथै हेरिरहँदा विचित्रको देखिन्थ्यो ।

ढुङ्गा छापेका पैदल मार्ग सुन्दर थिए । अलिकति पैदल मार्ग पार गर्दा नगर्दै विजुली नभएको साँझमा धूँवा भरिएको नेपाली घरमा छिरेजस्तो भयो । आकाश अघिदेखि रिसाएकै थियो । भूइँ कुहिरो रुखका फेदबाट दौडदै अँध्यारो खोल्सोमा ठोकिदै थियो । यो दृश्य अत्यन्तै दुर्लभ हुनुका साथै मनमोहक थियो । हामी कुनै बैज्ञानिकले नयाँ कुराको खोज तथा अनुन्धानमा निस्के झै अमूल्य चिजको खोजी गर्दै हिड्यौँ हाम्रो खोजको विषय विशाल थियो । त्यहाँ खोल्साबाट झ्याउँकिरीले लय हालेर हामीलाई स्वागत गीत गाएर स्वागत गरिरहेका थिए ।झ्याउँकिरीहरू निकै जागरिला रहेछन् । विविध बाद्य बादन बजाएका बजाई थिए ।

माउँ चरा र बाउँ चराहरु चाहिँ लेकतिर लागिसकेछन् क्यार, चराचुरुङ्गीको चाइँचुइँ थिएन । विचरा बचेराहरू चिसो चिसो भएकाले गुँडमै चुपचाप बसिरहेका थिए होलान । सायद हाम्रो पदचापको आवाजले तर्सिएका पनि होलान । यस्तै अनुमान गरियो । हामी वनेलु झ्याउ, झारपात , किरा फट्याङ्रा र विविध वनस्पति हेर्दै अघि बढ्यौँ ।

यस जङ्गलका वनस्पती मेरालागि त्यति अपरिचित र नयाँ थिएनन् । म बनेपा स्थित नालाको ठूलोवनलाई पाठशाला बनाएर हुर्केकी मान्छे । यहाँको हावापानी र त्यहाँको हावापानीमा खासै फरक थिएन । कतिका नाम थाह थिए,कतिका थाह थिएनन् । कति बोटविरुवाहरू परिचित भएपनि रामेका बा,श्यामेकी आमा भने झँै तिनका खास नाम चाहिँ थाह थिएनन् तर आँखाले भने देखिरहेका बोटविरुवाहरु थिए ।

यात्राका क्रम अगाडी बढ्दै थियो लिखे पानी परिरहेकै थियो । उकालो लाग्दा हामीलाई उक्त मौसम अनुकूल थियो । हामी खुसी हुँदै हिड्यौ । लालीगुँरास, कालीकाठ, अँगेरी, काफल, चिलाउने, सल्लो ,कटुस आदिका बोट हेर्दै हिड्यौँ । विहानको हल्लका नास्ताले छोडिसकेको थियो । आफूले बोकेका पानीले घाँटी भिजाउँदै गयौँ । मेरा लागि यो जामा चो पैदल यात्रा दोस्रो पटक भएकाले गन्तव्यसम्म पुग्दा प्यासले कति अत्याउँछ भन्ने कुराको अनुभव राम्रै थियो । त्यसैले साथीहरूलाई पानीको जोहो गर्ने सल्लाह दिएँ ।

बादल पनि मडारिदै हामीसँगै यात्रामा निस्केको थियो । टुप्पामा पुग्ने सामथ्र्य गुमाएर होला आधाबाटो पनि नहुँदै बादल पानी भएर वर्षन थाल्यो । हामी सबैले ओडोको व्यवस्था गरेका थियौँ । सबैले छाता ओड्नुभयो । मैले हिड्न सहज हुने सोचेर वर्षादी लगेकी थिएँ । आकाशे निलो वर्षादी ओडेर म पनि अगाडि बढेँ । पानी त पूरै डाँडाकाँडा नै थर्काएर पर्न लाग्यो । हामीलाई भने भिन्नखालको अनुभव भइरहेको थियो । जल कवच लगाएर पैदल यात्रा ।

क्या रमाईलो ! यो जङ्गलमा पानी पर्दा न पहिरोको डर न बाडिको डर । हामी निर्वाध रुपमा हिँडी रहयौँ । अव कवचले पनि नधान्ने भएपछि अल्ली ठूला रुखका फेद खोज्दै ओता लाग्यौँ । उक्त क्रममा पत्कर बजेको छस्रङ्ग आवाज आयो । आवाज आएतिर हेर्दा कालिज रहेछ । गन्तव्यको आधाउँधीमा बल्ल जङ्गली प्राणी जगतको एक प्रतिनिधि पात्र देख्न पाइयो । खुसी भएर फोटो खिच्न मोवाइल झिक्न खोज्यौँ तर सम्भव भएन । एक त पानी परेको समय अर्को भनेको कालीज यति छिटो बेपत्ता भयो कि राम्रोसँग हेर्न पनि पाएनौँ । सायद ऊ पनि पानीबाट बच्ने उपाय खोज्दै थियो होला । डाँडाका रुख खासै ठूला थिएनन् । यसो माथि हेर्दा मानव निर्मित केही चीज भएको आभास भयो ।

मैले आर्मी क्याम्प आएको पत्तो पाएँ । पछाडिका साथीहरू सबै जम्मा भयौँ । आर्मी क्याम्पमा एकछिन बस्यौँ । क्याम्पमा दुई जना भर्खरका आर्मी भाइहरू रहेछन् । ती दुई भाइ आफ्नै भाइजस्तै लागे । हामीलाई एकदुई दिन आउँन पो रमाईलो यिनीहरूलाई सधैँ बस्न गाह्रो हुदैँन होला भन्ने सोच आयो ।

‘ यहाँ जङ्गली जनावर आउँदैनन् ? ’मैले सोधेँ । ‘कहिले कहिले चितुवा पनि आउँछ ।’ दुई मध्ये एक आर्मीले भने ।

पानी पनि रहयो । हामीले आर्मीलाई सामूहिक फोटो खिचिदिन आग्रह ग¥यौँ । फोटो खिचिदिए । हामीहरूले धन्यवाद दियौँ र अगाडि बढ्यौँ । म बिस्तारै त हिड्नै नजान्ने । साथीहरूसँगै हिँड्दा नबोली दृश्यावलोकन गर्दै हिड्ने हो भने थाहै नपाई एक्लै अगाडि पुगिसक्ने मेरो नराम्रो बानी छ । यस्तो बानीका कारण यात्राका क्रममा धेरै साथीहरुले किन रिसाएको भनेर थुप्रैपटक सोधेका छन् ।

सँगै भेट भएका साथीहरूको हिँडाइको गतिअनुसार फेरि समूह छुटिहाल्यो । कमल सर, रामहरि सर र राजकुमार सरको एउटा समूह, मेरो, सृजनाजी र छायाँजीको एउटा समूह र युवराज सर, सविता म्याम, मञ्जु म्याम र अन्जु म्यामको अर्को समूह बन्यो । तर हाम्रो दुरी भने धेरै थिएन । युवराज नयाँघरे सरले पछाडीबाट कोसेली को को खाने भन्नुभयो । भोकले पनि पेट बटारिएको थियो । सरले चाहिँ के कोसेली ल्याउँनु भएछ ! हामी कोसेली खान पर्खिराख्यौँ । कोसेली शब्द सुन्ने वितिक्कै मावलबाट आमाले ल्याएको खुवा, केरा र बदामको याद आउँछ । सरले ल्याउँनुभएको कोसेली चाहिँ के रहेछ भनेर सरहरू नजिक नआएसम्म मनमा खुलदुली परि रहयो । सरले सबैलाई पुष्टकारी बाड्नुभयो । भोक लागेका बेलामा हामीलाई त्यो पुष्टकारी अमृत झैँ भयो । पुष्टकारीको खोलमा कोसेली लेखिएको रहेछ । हामीले कोसेली शब्दको रहस्य बुझेर हाँस्यौँ । यो कोसेली भने अन्जु म्यामको आफ्नै उत्पादन रहेछ । पुष्टकारी खाएपछिको तिर्खा रामहरि सरले ल्याउनुभएको स्याउले मेटायौँ ।

जङ्गलको बीचमा खाली चौरजस्तो खुला ठाउँ भेटियो । बस्ने ठाउँ पनि रहेछ । सबैले आराम गर्दै वसन्तको हरियो पालुवालाई पृष्ठभूमि बनाउँदै फोटो खिच्ने लामै कार्यक्रम भयो । माथितिर हरियो मौलाएको जङ्गल, तललिर हेर्दा जङ्गललाई सिरानी बनाएर सुतेको काठमाडौँ । वाह १ यो सुन्दरतालाई अँगालोमा बाँधूँ बाँधूँ जस्तो लाग्यो । यो अलौकिक सुन्दरतामा हामी मग्न थियौँ । मलाई घन्टौँ त्यहिँ बिताउँ जस्तो लाग्यो । मलाई त्यत्रा साथीहरू साथै हुँदा पनि म एक्लै भएर ध्यानमा भएको जस्तो अनूभुति भयो । मलाई यो प्राकृतिक सुन्दरताको मोहिनी रुपले लठ्याईदियो । यो तपोभूमिमा कुन मादकता थियो थाह भएन तर मलाई भने यो अलभ्य सुन्दरताले लठ्ठ पारिदियो ।

मनभरी सुन्दर दृश्यलाई प्रबल बनाउँदै मन नलागि नलागि अगाडि बढियो । चौरबाट ओजेल पर्नु अगाडि एक चोटी पुनः हेर्न खोज्दै थिएँ , नाथे भुसुनाले के के न गरेको जस्तो झ्याप्प आँखामा आक्रमण ग¥यो । राम्रा चिज धेरैबेर टिक्न नपाउँने केही न केहीले बाधा पु¥याएरै छोड्ने । यसरी आँखा पीरो बनाई दियो कि त्यो मेरो सुन्दर भावनाको थोरै शेष पनि अड्न सकेन । आत्मघाती भुसुना मलाई मात्रै असर गरेको हो र, मेरा आँखामा आएर आत्महत्या ग¥यो । आँखा नै धमिला भएका थिए । हिड्नलाई कठिन भएको थियो ।

छाँयाजीले किन सलको बुर्का लगाएको होला भन्ने सोचेकी थिएँ । यस कुराको रहस्य बल्ल थाह पाएँ । यो निकुञ्जले त भुसुना संरक्षण मात्रै गरेको छ कि क्या हो रु जनावर भने एउटै देखिएको होइन । म फत्फताउँदै हिडेँ ।

हरियो झ्याउमा सुनकिरी हिडिरहेको देखेँ । मैले फोटो खिँचे । अरु साथीहरूलाई पनि देखाएँ । सुनौलो रङ्मा साना काला गोला थोप्ला भएको यो सुनकिरी मलाई असाध्यैँ मनपर्छ ।अल्ली माथि जुङ्गे खपटे किरा पनि देख्यौँ । त्यति खेर लाग्यो यो जामाचोमा चाहिँ किराहरूको राज्य रहेछ , यो राज्यको राजा चाहिँ भुसुना रहेछ । सबैले भुसुना कै विषयमा कुरा ग¥यौँ । भुसुनाको जमातले हामीलाई सुरुदेखि नै पिच्छा गरिरहेको थियो । जति ओसिलो ठाउँ आयो, त्यति नै बाक्ला जुलुस पो हुँदा रहेछन् । यो जङ्गल त उनीहरूकै साम्राज्य पो रहेछ । हामी सबैलाई राम्रोसँग हेर्न नै दिएका थिएनन् । हिड्दै जाँदा बाटाका छेउमा निगालो र अम्रिसोका झाङ भेटिए । अम्रिसोको फुल एउटा निकाले र हम्कदै भुसुनासँगै युद्ध गर्दै जामा चो पुगियो । मैले भने यस ठाउँको नाम भुसुना चो राखिदिएँ ।

खानेकुरा बोकेका झोला भुइँमै फालेर थ्याच्च बसियो । छायाँजी भने बस्ने म्याट निकालिरहनु भएको थियो । मलाई भने माटोको आशन नै पर्याप्त थियो । एक छिन आँखा चिम्लिएँ । फेरि प्राकृतिक दृश्यमा मग्न भएँ ।

सबैले ल्याएका विविध परिकारको मिष्टान्न भोजन गरियो । युवराज सरले, जामा चोका बारेमा केही तथ्यहरु बताउनुभयो । ‘पद्मसम्भव तपस्वीले यस ठाउँमा तपस्या गरेको एक जापानीले पत्ता लगाए । उनले यस ठाँउको नाम जामा चो भनेर नामकरण गरे भन्ने भनाई रहेको पाइन्छ ।’

‘उपत्यकालाई घेरेका मुख्य सातवटा डाँडा जस्तो फूलचोकी , शिवपुरी, मणिपुर, चन्द्रगिरी आदि मध्ये प्रमुख डाँडा जामा चो डाँडालाई मानिन्छ । यहाँ उपत्यकाका मुख्य सातै डाँडामा पाइने वनस्पती पाइने कारणले पनि यो डाँडालाई विशेष मानिएको हो । पश्चिमी वायु भित्रिने मुख्य द्वार भएकाले पनि जामा चो मा सातै डाँडाका वनस्पती पाइँएको वैज्ञानिक अवधारणा छ ।’

यसरी युवराज सरबाट जामा चो का बारेमा राम्रा ज्ञानबद्धक जानकारी पायौँ । यस यात्रा कार्यक्रमका संयोजक तथा लेखन कुञ्जका सञ्चालक कमल ढकाल सरले सबैका रचना सुनाउँन लगाउँनुभयो । हामीले आ–आफ्ना रचना सुनायौँ । हामीले हाम्रो गृहकार्य यात्रा निबन्ध लेख्ने बाचा गर्दै पुनः भुसुनासँग पौठाजोरी खेल्दै भाषा,संस्कृतिका कुरा गर्दै ओरालो लाग्यौँ ।
बालाजु आएर सबै आ–आफ्ना गुँडतिर लाग्नुभयो । म पनि थकित ज्यान भएकी अशक्त आमाले आफ्नो बच्चो ठेगानमा पु¥याउँन गरेको प्रयत्नशील प्रयासको पर्यायमा उभिदै गुँडसम्म मलाई पु¥याईदिने बच्चो अर्थात् स्कुटी च्यापेर भुसुनासँग अझै युद्ध हुनसक्ने सम्भावनाको पोको बोकेर धुलेरोडतिर हाँकिएँ ।

-(अर्थ र रोजगार मासिक बैशाख २०७७ अंकमा प्रकाशित)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *