वैदेशिक रोजगारीको क्षेत्रमा जोखिममा परेका नेपालीको उद्धार गर्न सर्वोच्चले दियो आदेश
- बैशाख ४, २०७७
- 0

सर्वोच्च अदालतले कोरोना संक्रमण (कोभिड १९) महामारीका कारण वैदेशिक रोजगारीका क्षेत्रमा जोखिममा परेका तथा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई फिर्ता ल्याउन वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो । विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै सर्वोच्चले आफ्ना नागरिकलाई त्यसबाट जोगाउनका तथा नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको छ ।
वैदेशिक रोजगारीको क्षेत्रमा रहेका नेपाली कामदारलाई कोभिड १९ बाट बचाउन तथा त्यसबाट विपतिमा परेका र अलपत्र भएकाहरुलाई उद्धारका लागि माग गर्दै अधिवक्ता सोमप्रसाद लुइँटेल, प्रकाश खनाल र सुदीप देवकोटाले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि गैरआवासीय नेपाली संघले पनि सरकारसँग विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न आग्रह गर्दै यसका लागि संघले समन्वयकारी भूमिका खेल्ने बताएको थियो ।