प्रवासको अनुभव र प्रविधिको ज्ञान बोकेर कृष्ण गिरी कांग्रेस केन्द्रीय सदस्यको दौडमा

news-details

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन ।

लामो समयदेखि पार्टी संगठन, प्रवासमा कांग्रेसको विस्तार, सूचना प्रविधि र अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय गिरीले आफूले हासिल गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय भूमिकामार्फत उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन ।

गिरीको राजनीतिक यात्रा भने प्रवासबाट सुरु भएको होइन । झापाको अर्जुनधारामा २०४७ सालमै बुबाको प्रेरणाबाट नेपाली कांग्रेसको राजनीतिमा जोडिएका उनी विद्यार्थी अवस्थादेखि नै संगठन निर्माणमा सक्रिय थिए । त्रिचन्द्र क्याम्पस, नेविसंघ झापा हुँदै नेविसंघ केन्द्रीय समितिका विभिन्न विभागमा रहेर काम गरेको अनुभव उनले बटुलेका छन् ।

विद्यार्थी राजनीतिका क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगै त्रिचन्द्र क्याम्पसमा सक्रिय रहेर काम गरेको उनको राजनीतिक पृष्ठभूमिलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा गिरी स्ववियु सदस्यका रूपमा विद्यार्थी राजनीतिमा सक्रिय थिए । अहिले थापा पार्टी सभापतिको जिम्मेवारीमा रहँदा गिरी केन्द्रीय सदस्यका लागि अघि बढ्नु उनको लामो राजनीतिक यात्राको अर्को चरणका रूपमा देखिएको छ ।

करिब दुई दशकदेखि अष्ट्रेलियामा रहे पनि गिरीको पार्टीसँगको सम्बन्ध भने निरन्तर सक्रिय रह्यो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापति, संरक्षक तथा १४औँ महाधिवेशनपछिको जनसम्पर्क समिति समन्वय विभागको सदस्यका रूपमा उनले प्रवासमा कांग्रेस संगठनलाई सुदृढ बनाउने काममा भूमिका खेलेका छन् ।

उनको अर्को बलियो पक्ष सूचना प्रविधिसँगको व्यावसायिक अनुभव हो । पेशाले आईटी इन्जिनियर रहेका गिरीले पार्टीको सूचना प्रविधि, निर्वाचन प्रचारप्रसार तथा डिजिटल माध्यमबाट पार्टी गतिविधिलाई प्रभावकारी बनाउने क्षेत्रमा समेत काम गरेका छन् । बदलिँदो राजनीतिक शैली र प्रविधिमैत्री संगठनको आवश्यकता बढिरहेका बेला उनको यो अनुभव केन्द्रीय नेतृत्वका लागि उपयोगी हुन सक्ने कांग्रेसजनको बुझाइ छ ।

गिरीको सक्रियता पार्टी संगठनमा मात्र सीमित छैन । भूकम्प, बाढी तथा कोभिड–१९ जस्ता संकटका समयमा प्रवासमा रहेका नेपालीबाट आर्थिक तथा सामाजिक सहयोग जुटाउन उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवले उनलाई नेपाल र प्रवासबीचको सम्बन्ध तथा समन्वयको व्यावहारिक ज्ञानसमेत दिएको छ ।

नेतृत्वका अवसरमा व्यक्तिगत महत्वाकांक्षाभन्दा सहमति र संस्थागत हितलाई प्राथमिकता दिने उनको छविलाई पनि उम्मेदवारीसँग जोडेर हेरिएको छ । एनआरएनए अष्ट्रेलियाको पछिल्लो निर्वाचनमा सर्वसम्मत नेतृत्व चयनका लागि उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएर सहमतिका लागि बाटो खुला गरेको प्रसंगले उनको राजनीतिक शैलीलाई थप परिभाषित गर्छ ।

नेपाल–अष्ट्रेलिया सम्बन्ध विस्तारदेखि अन्तर्राष्ट्रिय समुदायसँग पार्टी र नेताहरूलाई जोड्ने कामसम्म सक्रिय रहेका गिरीसँग कूटनीतिक तथा अन्तर्राष्ट्रिय समन्वयको अनुभव पनि छ । परराष्ट्रमन्त्रीस्तरीय बैठक व्यवस्थापनलगायतका गतिविधिमा उनको संलग्नताले प्रवास र अन्तर्राष्ट्रिय क्षेत्रसँग पार्टीको सम्बन्ध विस्तारमा उनको अनुभव देखाउँछ ।

कांग्रेसले नयाँ पुस्ता, प्रविधि र प्रवासमा रहेका नेपालीको सहभागितालाई पार्टीको मूलधारसँग जोड्ने बहस अघि बढाइरहेका बेला गिरीको उम्मेदवारीलाई यही परिवेशसँग जोडेर हेरिएको छ । विद्यार्थी राजनीतिबाट विकसित भएको राजनीतिक अनुभव, करिब दुई दशकको प्रवासी जीवन, संगठन सञ्चालनको अभ्यास, आईटी क्षेत्रको व्यावसायिक ज्ञान र अन्तर्राष्ट्रिय समन्वयको अनुभव उनको उम्मेदवारीका प्रमुख आधार बनेका छन् ।

गिरीले पनि प्रवासमा हासिल गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय संरचनामा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् । उनका लागि यो केवल पद प्राप्तिको प्रयास नभई प्रवासको अनुभव, प्रविधिको ज्ञान र लामो राजनीतिक यात्रालाई पार्टीको मूलधारमा जोड्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया