विपद् प्राधिकरणलाई अधिकार सम्पन्न र प्रभावकारी बनाऔँ : रास्वपा प्रवक्ता खरेल

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनका लागि विद्यमान संरचनालाई पुनर्संरचना गर्दै अधिकार सम्पन्न र प्रभावकारी विपद् प्राधिकरण बनाउनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले विपद्का बेला उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी बनाउन अहिलेको संरचना पर्याप्त नभएको बताए। उनले सहसचिवस्तरको नेतृत्वमा मात्र प्राधिकरणको संरचना बनाएर मुलुकको विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने धारणा राखे।

‘प्राधिकरणलाई एउटा सहसचिव स्तरको व्यक्ति राखेर संरचना बनाएर हुँदैन,’ उनले भने, ‘अब बन्ने संसद्को विशेष समिति र सुशासन तथा राज्य व्यवस्था समितिले समेत यस विषयमा गम्भीर ध्यान दिँदै अधिकार सम्पन्न प्राधिकरण बनाउनेतर्फ काम गर्नुपर्छ।’

खरेलले पछिल्लो विपद्मा २७ जनाको मृत्यु, चार जना बेपत्ता हुनुका साथै अर्बौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको उल्लेख गर्दै विपद् व्यवस्थापनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले विपद्लाई केवल ‘दैवी प्रकोप’ का रूपमा परिभाषित गर्ने परम्परागत सोच परिवर्तन गर्नुपर्नेमा समेत जोड दिए। ‘विपद् दैवी प्रकोप होइन। यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सिर्जित हो,’ उनले भने।

यसै क्रममा खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्नुपर्ने आफ्नो पुरानै माग दोहोर्‍याउँदै यस विषयमा प्रधानमन्त्रीको जवाफसमेत माग गरे।

उनले अघिल्लो सदनमै आफूले कोषको नाम परिवर्तनको विषय उठाएको स्मरण गराउँदै विपद् व्यवस्थापनसम्बन्धी कानुन, संरचना र कोषलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने बताए।

खरेलले अब बन्ने संसदीय विशेष समिति तथा सम्बन्धित संसदीय समितिमार्फत विपद् व्यवस्थापनको समग्र संरचनामाथि पुनरावलोकन गरी स्रोत, अधिकार र जिम्मेवारीसहितको सक्षम विपद् प्राधिकरण निर्माण गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया