कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

news-details

काठमाडौं । लगातारको भारी वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ ।

आइतबार बिहान ६ बजेको अद्यावधिक विवरणअनुसार कुलेखानी जलाशयको पानीको सतह १,५२५.३७ मिटर पुगेको छ । शनिबार राति १० बजे १,५२४.०९ मिटर रहेको पानीको सतह रातभरको वर्षापछि बिहान ६ बजेसम्म १.२८ मिटरले वृद्धि भएको हो ।

जलमापन केन्द्रका अनुसार राति १२ बजे १,५२४.१३ मिटर रहेको जलसतह बिहान २ बजे १,५२४.३६ मिटर, ३ बजे १,५२४.६३ मिटर, ५ बजे १,५२५.११ मिटर हुँदै बिहान ६ बजेसम्म आइपुग्दा १,५२५.३७ मिटर नाघेको छ।

हाल जलाधार क्षेत्रमा प्रतिघण्टा ११ मिलिमिटरका दरले वर्षा भइरहेको छ भने जलाशयको पानीको सतह प्रतिघण्टा २२ देखि २३ सेन्टिमिटरका दरले बढिरहेको छ । १,५३० मिटर क्षमता रहेको कुलेखानी जलाशय भरिन अब करिब ४.६३ मिटर मात्र बाँकी छ ।

जलाशयमा पानीको चाप बढेपछि कुलेखानी जलविद्युत् आयोजनाका प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । पानीको सतह यही गतिमा बढिरहे नियन्त्रित रूपमा बाँधको ड्याम (गेट) खोलेर पानी निकास गराउने विषयमा प्राविधिक तथा व्यवस्थापन टोली छलफलमा जुटेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयबासीलाई सचेत गराउन साइरन बजाउने र मोबाइलमा एसएमएस पठाउने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया