विद्युत् महसुलमा भ्याट फिर्ता गर्ने सहमति भएको हो ? अर्थमन्त्रीको सचिवालयले खोल्यो वास्तविकता
- अशोज ५, २०८३
- 0
काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर भइरहेको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।
अर्थमन्त्रीको सचिवालयले आइतबार साँझ वा गत साता अर्थमन्त्री डा. वाग्लेले उक्त विषयमा कुनै भेटघाट वा छलफल नगरेको स्पष्ट पारेको हो।
अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले विज्ञप्ति जारी गर्दै ‘विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति’ भएको भन्दै अर्थमन्त्रीको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति सचिवालयको ध्यानाकर्षण भएको जनाएका छन्।
सचिवालयका अनुसार विद्युत्को भ्याटसम्बन्धी विषयमा अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राखेको धारणाअनुसार नै थप सहजीकरण तथा उपभोक्तालाई राहत दिने विषयमा सम्बन्धित मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको छ।
तर, यस विषयमा अर्थमन्त्री स्वयंले पछिल्लो समय कुनै विशेष भेटघाट वा छलफल गरी सैद्धान्तिक सहमति जनाएको भन्ने प्रचार भने सही नभएको सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयले सार्वजनिक चासोको विषयमा तथ्य पुष्टि नगरी अर्थमन्त्रीको नाम जोडेर गरिने प्रचारप्रसारले भ्रम सिर्जना गर्न सक्ने भएकाले वास्तविक अवस्था बुझेर मात्र सूचना प्रवाह गर्न आग्रह गरेको छ।
अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव ढुङ्गानाले जारी गरेको स्पष्टोक्तिमा भनिएको छ, “प्रचारप्रसार गरिएजस्तो माननीय अर्थमन्त्रीज्यूले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गर्नु नभएको स्पष्ट पार्न चाहन्छौँ।”
विद्युत्को भ्याटका विषयमा भने उपभोक्तालाई राहत दिने सम्भावनालगायत विषयमा सम्बन्धित निकायबाट छलफल तथा अध्ययन भइरहेको सचिवालयले जनाएको छ।









