संखुवासभाका सांसद कार्कीले किमाथांका सडक र त्रिदेशीय नाकाको महत्त्वबारे संसदमा उठाए आवाज
- रोजगारमञ्च
- जेष्ठ ४, २०८३
- 0
संखुवासभाका प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्कीले जिल्लाको रणनीतिक महत्व बोकेको किमाथांका सडक तथा त्रिदेशीय व्यापार नाकाबारे संसदमा सशक्त ढंगले आवाज उठाएका छन्। उनले नेपाल, चीन र भारतलाई जोड्ने किमाथांका क्षेत्र केवल संखुवासभाको मात्र नभई समग्र राष्ट्रकै गौरवको विषय भएको उल्लेख गरे।
सांसद कार्कीले विगतका कठिन परिस्थितिहरू सम्झिँदै संखुवासभा पुग्न कहिले हेलिकप्टर त कहिले भरियाको भरमा यात्रा गर्नुपर्ने अवस्थाबाट आज सवारीसाधन पुग्ने अवस्थासम्म आइपुगेको बताए। उनले विकासलाई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै पछिल्लो समय असम्भव जस्तो देखिएका कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको बताए।
सांसद कार्कीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउँदै किमाथांका त्रिदेशीय व्यापार नाका तथा कोशी राजमार्ग अन्तर्गत खाँदवारी–किमाथांका खण्डमा नेपाली सेनाको सहभागितामा हालै ट्र्याक खोलिएको जानकारी दिए। उक्त सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्न र निर्माणाधीन १४ पुलमध्ये अझै स्रोत सुनिश्चित नभएका ४ पुलका लागि बजेट व्यवस्थापन गर्न उनले माग गरे।
त्यसैगरी, वरुण दोभानदेखि हटियासम्मको अत्यन्त जटिल भूगोलमा निर्माण भइरहेको सडक पनि नेपाली सेनामार्फत नै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। संखुवासभा, भोजपुर र धनकुटाका बासिन्दालाई सहज आवागमनका लागि चतरा–लेगुवा खण्डको बाँकी ११ किलोमिटर ट्र्याक खोल्न पहल गर्न उनले सरकारलाई आग्रह गरे।
यसै क्रममा टुटेदेउराली–चौकी–मंगलबार–गुफापोखरी सडकको स्रोत सुनिश्चित गरी निर्माण अघि बढाउन तथा चैनपुर–नुनढाकी–गुफापोखरी सडक अलपत्र छोडेर ठेकेदार बेपत्ता भएको विषयमा तत्काल छानबिन गरी निर्माण सम्पन्न गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद कार्कीले संखुवासभाको विकाससँगै समग्र देशकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।














