अमेरिकी संसदमा दक्षिणी संघीय झण्डासहित घुस्ने व्यक्ति पक्राउ
- माघ २, २०७७
- 0
६ जनवरीमा अमेरिकी संसदमा ट्रम्प समर्थकको हमलाको एउटा तस्बिर सबैभन्दा बढी सोसल मिडियामा भाइरल भयो ।
तस्बिरमा एक व्यक्तिलाई अमेरिकी संसदमा कन्फिडरेटेड फ्ल्याग (दक्षिण संघीय झण्डा) लिएको देखिएको थियो ।
एफबीआईका अनुसार ती व्यक्तिको पहिचान गरेर उनलाई पक्राउ गरिएको छ ।अमेरिकी मिडिया अनुसार उनलाई बिहिबार डेलावेयरबाट पक्राउ गरिएको छ ।
उनको नाम केविन सिफ्राइड बताइएको छ र उनलाई बिहिबार अपरान्हपछि अदालतमा पेश गरिनेछ ।
जोसेफ एडलमम्यानले यसबारे ट्वीट गर्दै लेखेका थिए, ‘कन्फिडरेट फ्ल्याग अमेरिकी संसद भवनमा घुसेको छ जुन गृहयुद्धका बेला पनि हुन सकेको थिएन ।’
कन्फिडरेट फ्ल्याग यसकारण विवादित छ किनभने यसको सम्बन्ध अमेरिकामा सन् १८६१ देखि सन् १८६५ सम्म चलेको गृहयुद्धसँग छ ।
त्यतिबेला यसलाई अमेरिकी संघसँग लड्ने दक्षिणका सात राज्यको प्रतिकको रुपमा हेरिएको थियो ।
यो झण्डालाई गोराको प्रधानता र काला व्यक्तिहरुको सामाजिक एवं राजनैतिक बहिष्कारको प्रतिक पनि मानिन्छ ।
यद्यपि, यो झण्डा गृहयुद्धका बेला सार्वजनिक भएको थियो तर २० औं शताब्दिमा यो एउटा शक्तिशाली राजनैतिक प्रतिकको रुपमा उदय भएको थियो ।
गोराको प्रधानताको वकालत गर्ने चरमपन्थी संगठन कु कलक्स क्लेनले पनि यो झण्डाको खुबै प्रयोग गरेका थिए ।
२० औं शताब्दिमा नागरिक आन्दोलनका बेला पनि यो झण्डा प्रयोग गरिएको थियो ।
हालै सन् २०१५ मा २१ वर्षका एक गोरा नौजवानले साउथ क्यारोलाइनाको चार्ल्सटनमा रहेको एक चर्चमा गोलीबारी गरेर ९ अश्वेतको हत्या गरेका थिए ।
ती व्यक्तिले दक्षिणी संघीय झण्डा लिएको एक तस्बिर निकै भाइरल भएको थियो ।