टी-२० सिरिजको उपाधिमा चुक्यो नेपाल, बसिरको उत्कृष्ट ब्याटिङका बावजुद कुवेतसँग ३ रनले पराजित

news-details

हङकङ टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार ब्यहोरेको हो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।

नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो। तर अन्तिम चार बल बाँकी छदा चार रन बनाउँन नसक्दा नेपाल स्तब्ध भयो।

उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे। अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो।

पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरेका थिए। त्यसपछि फ्रिहिटमा उनले रन लिन सकेनन्। तेस्रो बलमा पनि रन प्रहार नगरेको बसिर चौथो बलमा भने क्याच हुँदा नेपाल १७१ रनमा अलआउट भयो। बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए।

यसअघि ओपनर कुशल भुर्तेल ३ रन र अर्का ओपनर आसिफ शेख २१ रन बनाएर आउट भएका थिए भने कुशल मल्ल डकआउट भए। त्यसपछि आएका दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। यस्तै कप्तान रोहितकुमार पौडेलले ७ रन मात्र जोड्न सके। सोमपाल कामी ४ रनमा रनआउट भने गुल्सन झा ९ रनमा क्याच भए । करण केसी ४ रनमा क्याच भए।

बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए।

हङकङमा आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो।

आक्रामक सुरुवात गरेको कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए। अर्का ओपनर क्लिन्टो अन्तोले २६ रन बनाए। उस्मान पटेलले २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए। सोमपालले ४ ओभरमा २६ रन र नन्दनले ३४ रन दिए। कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो।

यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *