३ करोड लगानीमा बुढानिलकण्ठमा संचालनमा आयो सुविधासम्पन्न ‘काठमाडौं क्रिकेट एकेडेमी’
- पुस २१, २०८१
- 0
करिब ३ करोडको लगानीमा काठमाडौंको बुढानिलकण्ठस्थित चुनिखेलमा नेपालकै पहिलो सुविधासम्पन्न क्रिकेट एकेडेमीको सुरुवात भएको छ ।
युवा व्यवसायीद्धय सबिन कार्की र मदन कार्कीले करिब ११ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न एकेडेमी निर्माण गरि संचालनमा ल्याएका हुन । औपचारिक रुपमा ओपनिङ नभएतापनि गत पौष १ गतेबाट एकेडेमी संचालनमा आएको छ ।
पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा छोडेको छाप र नेपालभित्र पनि बढ्दै गएको क्रिकेट क्रेजलाई मध्यनजर गर्दै एकेडेमीको सुरुवात गरेको एकेडेमीका प्रवन्ध निर्देशक सविन कार्कीले जानकारी दिए ।
आफ्नो बच्चाले क्रिकेट खेल्न एकदमै मन गरेकोले उपयुक्त लेवलको क्रिकेट एकेडेमी खोज्दा काठमाडौंमा नभेटेपछि आफै एकेडेमी संचालनमा ल्याउने सोचमा पुगेको कार्कीले बताए । यसले क्रिकेट सिक्न मन भएका अन्य धेरै बालबालिकाहरुको सपनालाई पनि पुरा गर्ने अपेक्षा लिएको उनको भनाई छ ।
एकेडेमीमा २१ वर्ष क्यानमै काम गरेका क्युरेटरको निगरानीमा दक्ष प्रशिक्षकहरुबाट क्रिकेट प्रशिक्षण दिइने जनाइएको छ । औपचारिक रुपमा सुरु नभएपनि हाल एकेडेमीमा ४ वर्षकादेखि प्रदेश तथा राष्ट्रिय स्तरका खेल खेलिसकेका करिब ६० जना बालबालिकाहरुले नियमित प्रशिक्षण लिइरहेका कार्कीले बताए ।
इन्डोरभन्दा आउटडोर सिकाइमा जोड दिने लक्ष्य राखेको काठमाडौं क्रिकेट एकेडेमीमा दुईवटा रातोमाटोको टर्प पिच रहेका छन् । त्यस्तै, एकेडेमीमा नेपालकै सबैभन्दा ठूलो ३० हजार स्क्वायर फिटको अन्तर्राष्ट्रियस्तरको आउटडोर प्राक्टिस टर्प पिच रहेको छ भने पाँचवटा अलग–अलग टर्प पिच रहेको १० हजार स्क्वायर फिटको इन्डोर प्राक्टिस ग्राउन्डसमेत रहेको उनले बताए ।
उनी भन्छन् –‘हामीसँग ओपन ग्राउन्ड छ, जसमा हामीले परिक्षण गरेर ल्याएको रातो माटोको २ वटा पिच निर्माण गरेका छौै, त्यसमा खेलिसकेपछि बालबालिकाहरु गेमका लागि फिजिकल्ली र मेन्टल्ली तयार हुन्छन् ।’
क्रिकेट सिक्न चाहनेहरूको पहिलो रोजाइको एकेडेमीका रूपमा आफूलाई उभ्याउने लक्ष्यका साथ एकेडेमी स्थापना गरेको बताउँदै प्रवन्ध निर्देशक कार्कीले पहिलो चरणमा नाफामूलक भन्दापनि सेवामुलक हिसाबले काम अघि बढाएको बताए । साथै उनले अहिलेसम्म एकेडेमीमा करिब ३ करोड लगानी भईसकेको जानकारी दिए ।
उनी भन्छन् –‘हामीले भर्ना शुल्क १२ हजार राखेका छौ । बालबालिकाहरुले एकपटक भर्ना गरिसकेपछि पुनः भर्ना गर्नु पर्दैन । जसअन्तर्गत राष्ट्रिय खेलाडीलाई निःशुल्क भर्नाको व्यवस्था गरेका छौ भने प्रदेश, जिल्ला स्तरिय खेल खेलेका बालबालीकाहरुलाई पनि भारी छुटको व्यवस्था गरेका छौ । यस्तै हामीले प्रतिमहिना ३५ सय रुपैया शुल्क निर्धारण गरेका छौ ।’
काठमाडौं क्रिकेट एकेडेमीमा आफ्ना बालबालिकाहरुलाई भर्ना गराई भविष्यमा नेपालको एक कुशल क्रिकेट खेलाडी बनाउन चाहनेहरुलाई सम्पूर्ण सुविधासहित एकेडेमीले सेवा प्रदान गरिरहेको छ । साथै अहिलेका बालबालिकाहरुलाई भविष्यमा राष्ट्रिय टिमबाट खेल्न सक्ने बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनका लागि यस एकेडेमीले मद्दत गर्ने प्रतिवद्धता समेत प्रवन्ध निर्देशक कार्कीले जनाए ।