फोहोर समस्या होइन : समाधान हो !
- असार २५, २०७९
- 0
काठमाडौँ लगायत देशभरका ठूला तथा साना सहरमा फोहोरको राजनीति हुने गरेको धेरै भयो । यसैलाई विषय बनाएर भोट माग्ने, एकले अर्कोलाई खुइल्याउने, सम्बन्धित निकायले भ्रष्टाचार गर्ने आधार बनेको छ यो । सरसफाई चेतना प्रवाहका नाममा संस्थाहरुले कमाउने कार्य खुब मजाले चलेको होला । अझै कति चल्नेछ ।
फोहोरलाई राजनीति वा कमाइ खाने विषय बनाउनेहरुसँग कुनै योजना छैन वा योजना बनाएर यसको समाधान गर्न चाँहदैनन् । कसैका सामु लुकेको विषय होइन यो ।
म फोहोर विज्ञ वा सरसफाइ विज्ञ पनि होइन । मल उत्पादक त झनै होइन । अनुभवको शब्द कोरल्न खोजेको हुँ । हुन त मसँगभन्दा अरू धेरैसँग धेरै विज्ञता र अनुभव छन् । तर अरुको अनुभव आउला भनेर किन पर्खिने ।
सानैदेखि घर आँगन बढार्ने, अफिस कोठा वा टेवल कुर्सी सफा गर्न सहयोगी नकुर्ने आफैँ अगि सर्ने, सके, भ्याएसम्म आफ्नो लुगा कपडा आफैँ धुने मान्छेको हातमा सरसफाइको कार्य आइलागे केही राम्रै हुन्छ भन्ने मेरो नीजि अनुभव हो । यहाँ योजनाकारहरु नै श्रीमतीले धोएको लुगा सुकाउन छतमा जाँदा इज्जत जान्छ भन्छन् । बाटोको फोहोर टिपेर कतै व्यवस्थापन गर्दा अरुले देख्ला भनेर डराउँछन् तर चकलेट वा चुरोट खाएर त्यसको खोल वा ठूटो बाटोमा फाल्न कति पनि अप्ठ्यारो मान्दैनन् ।
समस्या यी र यस्ता अनेक छन् ।
शीर्षककै कुरा गरौँ ।
‘फोहोर समस्या होइन समस्या बनाइएको हो । फोहोर समस्या बन्नका लागि होइन समाधान बन्नका लागि उपस्थित भएको कृत्रिम वस्तु हो ।’
मैले काठमाडौँ बूढानिलकण्ठको १३ नम्बर वडामा ९ वर्ष अघि घर बनाएँ । खेतको बिचमा बनेको मेरो घरबाट जसको खेतमा फोहोर फाले पनि हुन्थ्यो । तर कहिल्यै त्यसो गरिएन । फाल्न पुग्ने फोहोर नभएकै कारण पनि फालिएन । अझै धेरै फोहोर जम्मा भए हुन्थ्यो जस्तो लाग्थ्यो । कागज र प्लास्टिकजन्य फोहोरहरु जलाउँदा क्यान्सरजन्य रोग लाग्छ भन्ने थाहा पाएर पनि व्यवस्थापन गर्ने उपाय नभएर महिनामा एकचोटी जलाउन बाध्य भइयो ।
कुहिने फोहोर भने कहिल्यै मेरो घरबाट बाहिर निस्किन पाएन । रुद्रमति (धोवीखोला) खोलामा फोहोर फालेर सानले फर्किएका मानिसहरुप्रति दया मात्र लाग्थेन फोहोरको लोभ पनि लाग्थ्यो ।
अहिले घरले जमिन भरिएको छ । फोहोर उठाउन गाडि आउँछ । मासिक चार सय शुल्क लिन्छ, म पनि तिर्छु । तर उसलाई नकुहिने फोहोर मात्र दिन्छु । छतमा तरकारी बारी छ । राम्रो उत्पादन गर्न धेरै र गुणस्तरको मल चाहिन्छ । घरको फोहोरले पुग्दै पुग्दैन । थप कम्पोष्ट मल बनाउँछु । एकातिर तरकारी बारीमा काम गर्दा मनमा आनन्द र स्वास्थ्यमा लाभ, अर्कोतिर तरकारी किन्ने खर्चको बचत हुने नै भयो । सबैभन्दा मुख्य कुरा विषादी रहित स्वच्छ र ताजा तरकारी खान पाइन्छ ।
साढे तीन आना क्षेत्रफलमा बनेको घरको ७० प्रतिशत मात्रै छत छ । त्यसको पनि ३० प्रतिशतमा मात्र तरकारी लगाइएको छ । मेरो ४ जनाको परिवारको ८० प्रतिशत तरकारीको आपूर्ति यहिँबाट हुन्छ । माछा मासु, च्याउ, दाल लगायतका केही तरकारी बाहेक बोडी, सिमी, फर्सी, काँक्रा, तितेकरेला, साग, टमाटर, भन्टा, लौका, स्कुस, खुर्सानी, लगायत धैरै तरकारी छतमै फल्छ ।
यसका लागि मिहिनेत र लगानी पनि धेरै चाहिँदैन । एक सिजनको तरकारी फलिसकेपछि अर्को रोप्ने बेलामा केही घण्टा मिहिनेत पर्छ त्यसपछि पानी हाल्ने र गोडमेल बाहेक समय लाग्दैन ।
बजारमा पाइने अझ बेमौसमी फलफूल तरकारी, चिस्यान, फ्रिजिङ, बिषादी आदिले पोषण तत्व त बाँकी नै रहँदैन, स्वास्थ्य पनि बाँकी रहदैन । अमेरिकी चिकित्सक रेडि स्ट्रान्डको चिन्ता हो यो । तसर्थ हाम्रो सानो मिहिनेतले आफ्नो परिवार र बालबालिकाको स्वास्थ्यको केही हदसम्म सुरक्षा गर्न सकिने रहेछ । सबैले त्यो गरौँ ।
एउटा परिवारले तरकारी किन्नबाट बचाएको रकमले वार्षिकरुपमा आफ्नो हजारौँ बचत हुने र देशको अरबौँ व्यापार घाटा कम गर्न सकिने रहेछ । काठमाडौँ उपत्यकामा ८ लाख घरमा मात्रै तरकारी लगाउने हो भने ३० लाख मान्छेको ८० प्रतिशत तरकारीको माग पूर्ति हुन्छ । यो भनेको २४ लाख मान्छले आफ्नै छतको तरकारी खान पाउछन् । एक परिवारको तरकारीमा न्युनतम मासिक ३ हजार खर्च हुने अनुमान गरौँ । यसबाट १ अर्ब ९२ लाखको तरकारी खर्च बच्छ, आयात गर्नु पर्दैन । यसबाट भएको बचत अन्यत्र उत्पादनशील कार्यमा लगाउन सकिन्छ ।
यसको बहुआयामिक लाभ हुनसक्छ । ३० लाख मान्छेले स्वस्थ्य, विषादीरहित ताजा तरकारी खाएर आयु लम्ब्याउन सक्दा करोडौँको उपचार खर्च बच्यो । औषधिको आयात समेत रोकियो । व्यक्तिले तरकारी किन्ने खर्च बचाउँदा बालबालिकाको शिक्षामा अतिरिक्त लगानी गर्न सक्छ, शहरीया बालबालिकालाई एकछिन भए पनि कृषि अनुभव सिकाउन सकिन्छ ।
केबल घरको फोहोर व्यवस्थापनको सानो सोचले व्यक्ति र राष्ट्रको स्वास्थ्य, शिक्षा, अर्थतन्त्र जस्ता महत्वपूर्ण विषयमा योगदान हुनसक्छ । हाम्रो ध्यान यसरी गएको देखिँदैन । बरु यसको उल्टो बिषादी र औषधिमा लगानी गरेर आफू र बालबालिका समेतको स्वास्थ्य, शिक्षा, संस्कार र पोषणमा खेलाँची गरिरहेका छौँ ।
रमेश खरेलले काठमाडौँको महानगरको मेयरमा चुनाव लड्ने इच्छा गर्नुभयो । त्यसपछि काठमाडौँको योजना चित्र कोर्न बन्द कोठामा घोत्लिएर आफ्नै अनुभव कोरल्दा एकघण्टामा तयार भएको थियो अनेक चित्र ।
कौसी खेति गर्न चाहनेका लागि तालिम, मल, बीउ र अन्य सामग्रीहरु उपलब्ध गराउने र घरको फोहोरबाट मल बनाउन सिकाउने । उनीहरुबाट प्राप्त नकुहिले फोहोरबापत शुल्क नलिने । जसले कौशी खेती गर्न चाहँदैन उसले वर्गिकरण गरेर फोहोर दिन्छ, उसँग सामान्य शुल्क लिने । कौशी खेति नगर्नेबाट प्राप्त कुहिने फोहोरबाट मल उत्पादन गर्ने । यसबाट सानै भएपनि रोजगारी सिर्जना हुन्छ र महानगरको आम्दानी बढ्छ । त्यो उत्पादित मल कौशी खेती गर्नेलाई सामान्य शुल्कमा घरघरमा लगेर बेच्ने ।
कागज र प्लास्टिक रिसाइकल गर्ने । काठ र फलामको टुक्रा संकलन केन्द्र स्थापना गर्ने । यी दुवै तरिकाबाट रोजगार र आय बढ्छ ।
अलि कठिन भनेको महिला र पुरुषले प्रयोग गर्ने केही फोहोरहरु र अस्पतालबाट निस्किने फोहोर हुनसक्छ । यसतर्फ सामान्य काम गरिदिए सधैँको फोहोरको रडाको स्थायीरुपमा अन्त्य हुनेछ ।
कुनै गाउँमा लगेर दुर्गन्ध फालेर त्यहाको जनातलाई जिउँदै मारिरहनै पर्दैन ।
बोल्न जति सजिलो गर्न हुँदैन । तर यति सानो कुरा गर्न ठूलो योजना पनि चाहिँदैन । शुरु गरे सफल भइन्छ । यसरी सोच्ने र शुरु गर्ने मान्छेको खाँचोले समस्या ल्याएको हो ।
काठमाडौँका मेयर बालेनको हिन्दी फिल्म ‘नायक शैली’ देखिँदैछ तर नतिजा हेर्न बाँकी छ । समस्या ठानेर होइन ‘उत्पादन र आयआर्जन’को उपाय ठानेरै काम गर्नुभएको होला भन्ने लाग्छ । यो सोचले समाधान सजिलो र उत्साहप्रद हुनसक्छ ।
आशा गरौँ एउटा भुइँमान्छेको अनुभवको सानो योजनाभन्दा काठमाडौँका मेयरसँग उत्कृष्ट ईन्जिनियरिङ योजना छ । विश्वास गरौँ र अरु नगरले पनि सिकौँ ।
हुँदै नभएको समस्या सिर्जना गरेर शहर र राजनीति दुबैलाई दुर्गन्धित बनाउनुभन्दा देशको इज्जत कमाउने र जनताले दोहोरो लाभ लिने उपाय अवलम्बन गरौँ ।