दण्डहिनताका कारण महिला हिंसा बढ्यो, राज्य किन बन्दैन गम्भिर ?
- जुनु गुरुङ
- अशोज १४, २०७५
- 0
पछिल्लो समय देशभर महिला हिंसाका घटना दिनानुदिन बढदो छ । महिलामाथि हुनेगरेका घरेलु हिंसा, बलात्कार, निर्मम हत्याका घटना एकपछि अर्को गर्दै सार्वजनिक भैरहदा पनि यसलाई न्यूनिकरण गर्नुको साटो सरकारको झारा टार्ने अभिव्यक्ति र प्रतिपक्षको राजनैतिक मसलाको विषयका रुपमा मात्र यस्ता घटना सीमित भैरहदा पीडितहरुले न्याय पाउनु र परैको कुरा आम नेपाली महिलाहरु आफुलाई कति बेला कस्तो विपति आइलाग्ने हो भन्ने डरमा बाचिरहनुपरेको यर्थाथ छ ।
अहिले देशमा दुइतिहाई बहुमतसहितको स्थायी सरकार छ । यो सरकारप्रति आम नेपालीले आशा र भरोसा राखेका छन् । तथापी यस अवस्थामा पनि महिला माथि भैरहेको हिंसाका घटना घटनुको सट्टा बढनुमा पहिलो कारण त दण्डहिनता नै हो भने अर्को कारण घटनाको राजनीतिकरण ।
जबसम्म अपराधीलाई राजनैतिक आस्थाका आधारमा संरक्षण गर्ने या घटनालाई राजनीतिसँग जोडेर इश्युका विषय मात्र बनाउने परिपाटीको अन्त्य भएर कडा सजायको व्यवस्था हुदैन तवसम्म यस्ता घटना घटनुको सट्टा बढदै जान्छ ।
यो वर्षको बैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् । पाँच महिनाको अवधिमा साढे १४ सय बालबालिका तथा महिलाहरूमाथि बलात्कार र हत्यासम्मका घटना भएका छन । अघिल्ला वर्षहरुको तुलनामा यो अवधिमा १० प्रतिशत बलात्कारका घटना बढेको देखिन्छ । यस अवस्थामा पनि सरकार गम्भिर बन्न नसक्नु आफैमा उदेकलाग्दो विषय हो ।
पछिल्लो समय महिला हिंसा तथा बलात्कारको विषय कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र जघन्य हत्याको घटना पछि देशैभरि उठेको छ । अपसोच घटनाको यति धेरै समय वितिसक्दा पनि सरकारले हत्यारा पक्रन सकेको छैन । बरु त्यसयताका दिनमा दिनहुजसो बलात्कार, हत्या र एशिड प्रहारका घटना सार्वजनिक भैरहेका छन ।
समाजलाई सभ्य र सुसंस्कृत बनाउनु सबै राजनीतिक दलको दायित्व हो । राजनीतिलाई अपराधीकरणमा प्रयोग गर्ने र अपराधलाई राजनीतिकरण गर्ने प्रचलन देशका लागि कहिल्यै भलोका विषय होइनन । जो पीडित भएपनि हाम्रै चेलीबेटी हुन, यसलाई राजनीतिकरण नगर्दा यस्ता घटना न्यूनिकरण हुने थिए कि ।
बलात्कारका घटना विकसित देशमा पनि हुन्छ । त्यसैले संयमित भएर यस्ता समस्या समाधान गर्न सबै राजनैतिक दलहरु र राज्य लाग्नुपदर्छ । अपराधीलाई हदैसम्मको कारवाहीको व्यवस्था गर्दै यस्ता घटनालाई राजनीतिसँग नजोडि मानविय हिसावले लिने हो भने यसको न्यूनिकरण हुदै जाने थियो ।
(लेखिका गैरआवासीय नेपाली संघ, एशिया प्रशान्त क्षेत्रको लागि क्षेत्रीय महिला संयोजक हुनुहुन्छ)