‘चुल्ठे मुन्द्रे’ ड्राइभरसित गफिदै हलेसी मन्दिरसम्म

news-details

नाम : भोला कटुवाल ।

काम : सुमो ड्राइभर

उमेर : सरदर ३० वर्ष ।

भोलालाई कोटेश्वरमा देख्दा सुमोको स्टेरिङ समातिरहेका थिए । लामो कपाल, पछाडि बाँधेका । पहेँलो रंगले कपाल रंग्याएका । कानमा मुन्द्रा । औंलामा चाँदीका औंठी ।

गहुँगोरो वर्णका जवान भोलाले बिहान ४ बजेदेखि नै खोटाङको हलेसी पुग्न ढिलो हुन्छ भन्दै फोनमा हुटहुटी लगाएका थिए । उनको रुपबारे मेरो मनमा अर्कै चित्र थियो, अलि पाको र पक्का । तर उनी देखिए पुरै अल्लारे रुपरंगमा ।

उनले ४ बजेदेखि फोन गरे पनि म कोटेश्वर पुग्दा ६ बजेको थियो । कुर्न परे पनि उनी रिसाएनन् । सामान मिलाएर गाडी कोटेश्वरबाट अघि बढाए ।

लामो कपाल, कपालमा डोरो, कानमा मुन्द्रा अनि हातमा सुमोको स्टेरिङ । भोलासित अब लामै बाटो जानु छ, त्यो पनि अप्ठेरो खालको । उनलाई झ्वाट्ट हेर्दा यात्रा कस्तो होला भनेर फोक्सो फुल्यो । यात्रा कोटेश्वरबाट अघि बढेपछि भोलाको शरीरसँगै मन पनि वाचाल हुन थाल्यो ।

केही समय फुलेको फोक्सोमा सास बढे पनि उनको गाडी हँकाई र कुरा गराईमा अनौठो लय मिल्दै गयो । उनी हरेक दृश्य र हरेक ठाउँमा देखिएका कुरालाई ठट्यौली पारामा यात्रुलाई सुनाउन थाले । मन शान्त भयो ।

भक्तपुरको सडकमा हुइँकिएका मोटरसाइकलका कुरा गर्दै भोलाले गाडी चलाउदा काभ्रेमा भोगेको एउटा रमाइलो घटना सुनाए, जुन उनको कपाल, मुन्द्रा र अहिलेको रुपको पृष्ठभूमि थियो ।

भोला भन्न थाले ‘गाडी ५० को स्पिडमा थियो । काभ्रे भज्याङ कटेर अलि पर पुगेको थिएँ । उताबाट बाइक आयो । वास्तै भएन । यात्रामा कति आउँछन् जान्छन् । तर अलि पर पुगेर त्यो बाइक फर्कियो । मेरो नजिकै आएर मज्जाले हर्न लगायो ।

गाडी रोकेँ । मेरो कपाल हल्लिने गरी किन गाडी कुदाइस् भनेर उसले मलाई गाली गर्‍यो’ भोलाले हाँसो मिश्रित गुनासो गरे ‘हेर्नुस् कपाल हल्लाउने गरी गाडी चलाउन पनि पाइँदैन ।’

त्यो दिन भोलालाई लाग्यो हेलमेट समेत नलगाई बाइक चलाउने स्थानीयको कपाल हल्लिने गरी गाडी कुदाउनु ज्यान धरापमा राख्नु बराबर हो । त्यही दिनदेखि उनको पुरानो रुप फेरिन थाल्यो र कपाल, अनुहार र कानले अहिलेको रुप वरण गर्न थाल्यो ।

भोलाले गाडी चलाएको १३ वर्ष भइसक्यो । १३ वर्षमा उनले कतिलाई गन्तव्यमा पुर्‍याए, त्यसको हिसाव किताव भोलासित छैन । आफ्नो गाडीमा चढेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउन नै ड्राइभरको धर्म हो भन्ठाछन भोला ।

गाडी अघि बढ्दै जाँदा यात्रुहरु भोलाको यात्रा अनुभवमा रमाउँदै गए । केहीबेर भोलाका कुरा सुनेपछि एकजना यात्रुले सोधे ‘तपाईँ त असाध्यै मिजासिलो हुनुहुँदो रहेछ, फेरि देख्दा चाहिँ किन यस्तो डरलाग्दो बन्नुभएको नि रु’

भोलाले हाँस्दै भने, ‘तपाईँहरुकै सुरक्षाका लागि नि । यात्रुको सुरक्षाका लागि पनि ड्राइभर चुल्ठे र मुन्द्र हुँदा रहेछन् भन्ने कुराले सबैको मनमा अर्को खुल्दुली जन्मायो । भोलाले खुल्दुली मेट्न अलिकति खोके जस्तो गरे ।

घाँटी सफा गरेपछि उनी फेरि वाचाल भए । ‘बाटोमा मान्छे र अरु ड्राइभरले यसो हेर्छन् । ड्राइभरहरु अनि ट्यापे ट्यापे चालक देखे भने चुपचाप जान्छन्, सोझो देखे भने त पेल्छन् । गाडी चलाउदा सोझो भएर हिँड्दा त आफ्नो गल्ती नभए पनि कुटाइ खाइन्छ यहाँ त,’ भोला भन्छन् ।

बनेपा कटेपछि भेटिएका प्रत्येक टिपरको चलाउने शैली र आफूले भोगेका कुरा मिलाउँदै सुनाए भोलाले । ‘यो काभ्रे भज्याङ कटेपछि सबैभन्दा धेरै टिपरले हेप्छन्, साइडै दिँदैनन्, अलि पेलेर चलायो भने यसो ड्राइभरलाई हेर्छन्, मै जस्तो देखे भने अलि सावधान हुन्छन् नत्र त खैरात छैन नि,’ भोलाको कुरा सुनेर यात्रु पेट मिचिमिचि हाँस्थे । अनि भोला चाहिँ यात्रुको खुशीमा रमाउँथे ।

भोलासँगको यात्राको अर्को गज्जबको कुरा के थियो भने, जुन ठाउँमा पुग्यो भोलाले त्यही ठाउँका एक न एक रमाइलो कुरा सुनाइहाल्थे ।

काभ्रे भज्याङ कटेपछि जापान सरकारले घुम्तीहरुमा राखिदिएको ठूला ऐनाहरुको कुरा निस्कियो । भोलाले भनिहाले, ‘ त्यो ऐना कम्ता वैज्ञानिक थिएन, यहाँका वैज्ञानिकले आफै अनुहार हेर्न होला चोरी हाले हाहाहा,’ भोला मज्जाले हाँसे ।

घुम्तीमा राखिएको ऐना चोरी हुँदा भोलालाई सुरक्षित यात्राको एउटा अंग चोरिएको जस्तो लागेको छ अहिले पनि । काभ्रे सकियो, काभ्रेजिल्लासँग जोडिएका अनुभवलाई पनि भोलाले मैजारो गरे ।

सिन्धुलीसँग गुनासो छैन

सिन्धुलीसँग भोलाको त्यति ठूलो गुनासो छैन । विपी राजमार्ग पूर्णरुपमा बनेपछि सिन्धुलीको रुप नै फेरिएको छ । चिल्लो नागबेली सडक । नेपालथोक कटेपछि खुर्कोटसम्म गाडीले पनि सायद आनन्दको अनुभव गर्छ होला । ‘यो बाटो जोडिएपछि यति सजिलो भएको छ कि कुरै नगरौं, पहिले त सास्ती थियो नि’ भोला भन्छन् ।

सडक बनिसक्नु अघि सिन्धुलीको त्यो बेलाको कुशेश्वर गाविसको साँदीको उकालोमा गाडी चढाउन सगरमाथा चढे जत्तिकै लाग्थ्यो भोलालाई । तर अहिले सडक राम्रा भएपछि सिन्धुलीभरी यस्ता समस्या झेल्न पर्दैन । बाटो छिचोल्न समय पनि कम लाग्छ ।

विदेशको मोहले ठगिएँ

हिजोआज कुनै न कुनै सदस्य विदेशमा नभएको घर भेट्न गाह्रो पर्छ । भोलाले पनि बिदेश जान खोजेका थिए । विदेश जान त सकेनन्, तर पच्चिसौ सास्ती र डेढ लाख रुपैयाँ सकिएपछि देशमै बस्ने निधो गरे ।

२०७२ सालमा भोलाले विदेश जान गाडी त्यागे । म्यानपावरले मलेसियाको राम्रो डिमाण्ड आएको बताएपछि एक लाख ५० हजार रुपैयाँ म्यानपावरलाई बुझाए । तर चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान झैं भयो भोलालाई । म्यानपावरले भोलालाई पनि झुक्यायो ।

‘कमाइ घट्दै थियो, त्यही भएर विदेश जाउँ भन्ने सोचियो । दुई चार दिन त कडा डियुटीमा परियो नि’ भोलाले पछुतो मान्दै सुनाए ‘बिहानदेखि बेलुकासम्म म्यानपावर धायो । न विदेश पठायो न पैसा फिर्ता दियो । भएको गाडी पनि बेचेर बसिएको थियो, कम्ता गाह्रो भएन ।’

विदेश जाने रहरमा पाएको सबैभन्दा ठूलो ठक्कर भोलाले त्यतिबेला अनुभव गरे जव भोला उड्न तयार भएर घरबाट बिदा भै विमानस्थल पुगे । भोलाकै शब्दमा ‘म्यानपावरवाले एकदिन चार दिनपछि हो भाइ तिम्रो उडान, लुगा पोको पारेर राख भन्यो, लुगा किनेँ, आमालाई नि जान लागेको भनेर विदा मागेँ, चार दिनका दिन त मान्छे नै पो हरायो हाहाहा …।’ भोलाले हाँस्दै भने, ‘त्यसपछि घर फर्किएँ, आमाले किन नगएको त भन्नुभयो, प्लेनको टाएर बिग्रिएछ, प्लेन नै उडेन आमा भन्दें ।’ दुःखको कुरालाई पनि ठट्यौलो पारामा भन्ने भोलाको यही विशेषताले बाटो मिलिक मिलिक कट्दै थियो ।

म्यापावरलाई बुझाएको पासपोर्ट समेत फिर्ता नलिइ घर फर्किएका भोलाले फेरि कहिले पनि विदेश जाने सोचेनन् । घर फर्किएर गाडीकै स्टेरिङ समाते । यति कुरा सुनाइसक्दा घुर्मीमा खाना खान भोलाले सुमोको ब्रेक लगाए ।

जयरामघाटको व्यथा

हलेसीसम्म पुग्न अब हाम्रो यात्रा धेरै बाँकी थिएन । खानापछि भोलाले ओखलढुङ्गा र खोटाङलाई जोड्ने जयरामघाटमा पक्की पुल नबन्दाको व्यथा सुनाउदै गाडी अगाडि बढाए ।

दूधकोसीमा पक्की पुल नबन्दासम्म खोटाङ जाने गाडी जयरामघाट मै रोकिन्थे । पारी पट्टिका गाडी पारी हुन्थे, वारीका वारी ।

जयरामघाटमा यात्रुलाई उस्तै सास्ती थियो । सामान तार्न भरियाको सहारा लिनुपथ्र्यो । तर अहिले पक्की पुल बनेपछि यो सास्ती हटेको छ । दूधकोसी नदी देखेपछि भोलाले पक्कि पुल नबन्दाको सास्ती सम्झिए ,‘पहिले त खोटाङ हिँडेकालाई मात्र हैन ड्राइभरलाई पनि सास्ती थियो, दूधकोसी किनारमा सुत्थ्यौं, जे पनि महँगो ।’

पक्की पुल बनेपछि भोलाको यात्रा सहज भएको छ । काठमाडौंबाट खोटाङको एेंसेलुखर्कसम्म एकै दिनमा पुग्छन् भोला । भोला आफैले किनेको सुमो चलाउँछन् । खाइ खर्च सबै कटाएर सुमोबाट मासिक ६० हजार जति बचाउछँन् । ‘डटेर काम गर्दा विदेश किन जानु, यहीँ हुन्छ । ठगिए पनि विदेश नगएर ठिकै गरेछु भन्ने लाग्छ भोलालाई ।

दिउँसोको २ बज्दा भोलाको गाडी हलेसी पुग्यो। काठमाडौंबाट हिडेदेखि गाउँठाउँ र बाटोसँग जोडिएका भोलाका भोगाई सुन्दा ८ घण्टाको यात्रा पनि चाँडै सकिए जस्तो लागिरहेको थियो ।

हलेसी दर्शन गर्न हिँडेका नयाँ यात्रुलाई भोलाले होटल मात्र देखाएनन्, होटलवालासित कुरा गरेर भाउ मिलाई दिए र झोला पनि होटलसम्म पुर्‍याइदिए । हामीलाई हलेसीभन्दा टाढा जानु थिएन । त्यसैले हलेसी मन्दिरको गेटैमा और्लियौं ।

विदा हुने बेला भोलाले हामीलाई भने ‘फर्किने बेला सम्झिनुस् है, हाँस्दै र कुरा गर्दै जाउँला ।’

फर्किदा भोलाकै गाडी त भेटिएन, तर भोलासँगको यात्रा उनको चुल्ठो र मुन्द्रो भन्दा पनि धेरै सम्झन लायक भै दियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *