एनआरएनए मलेसिया र नवनियुक्त राजदुतबीच भेटवार्ता, एनआरएनएले दियो स्वागत कार्यक्रमको निमन्त्रणा
- रोजगारमञ्च
- माघ २१, २०८१
- 0
गैरआवासीय नेपाली संघ, मलेसियाले नवनियुक्त नेपाली राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनालाई औपचारिकरुपमा भेटवार्ता गरेको छ । संघका अध्यक्ष राकेश महतोको नेतृत्वमा रहेको एनआरएन मलेसियाको टोलीले सोमबार राजदूत तिमिल्सिनालाई भेटी मलेसियामा रहेका श्रमिकको पक्षमा काम गर्न सहकार्यका लागि अनुरोध गरेको छ ।
एनआरएनए मलेसियाले आम मलेसियामा कार्यरत नेपालीहरुको अभिभावकको रूपमा राजदुतको गरिमामय पदको जिम्मेवारी सम्हाल्नु भएका तिमिल्सिनालाई मलेसियामा स्वागत गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको जनाएको छ । एनआरएनए मलेसियाका अध्यक्ष महतोले भने –‘लामो समय रिक्त रहेको राजदूत पदमा आम मलेसियामा रहेका नेपालीले अभिभावक पाएका छौं, उहाँको कार्यकालमा एनआरएनएसँगको सहकार्य र सहयोगको अपेक्षा राखेका छौं ।’
एनआरएनए मलेसियाले राजदूत तिमिल्सिना र दूतावास परिवारलाई आगामी फेब्रुअरी १६ तारिख आयोजना गर्ने स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि निमन्त्रणा पनि गरिएको अध्यक्ष महतोले जानकारी दिए । सो अवसरमा मलेसियामा रहेका नेपालीको अबस्था र दूतावासले आगामी दिनमा गर्नु पर्ने कामका बिषयमा जानकारी दिने तथा बृहत छलफल गरिने एनआरएनए मलेसियाले जनाएको छ ।
मलेसियाका लागि नेपालका राजदूत तिमिल्सिनाले भर्खरै क्वालालम्पुरस्थित राजप्रासादमा आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।