एनआरएनएका पदाधिकारी र बेलायतका राजदूत रोब फेनबीच भेटवार्ता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटर्वार्ता गरेको छ ।

सोमबार भएको उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्याइरहेको योगदान लगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराए । नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा केसीले उल्लेख गरे ।

संघका उपाध्यक्ष डा. बिनोद श्रेष्ठले डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए ।

यस्तै महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका बिट्रिश गोर्खाको मुद्दा स्मरण गराउँदै नेपाल र बेलायत सरकारले उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिइन । उनले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराइन ।

उक्त अवसरमा नेपाल फेस्टिवल, दोस्रो पुस्ताको डायस्पोरा लगायतका विषयमा पनि छलफल भएको थियो ।

भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरहरूलाई जोड दिँदै नेपाल र बेलायतका बीच सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले यथेष्ट लगानी नेपालमा भित्रन नसक्नुको कारणबारे खोजी गरी बढी भन्दा बढी लगानी भित्र्याउन जोड दिनुपर्ने बताए । उनले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा संघका सहकोषध्यक्ष कृष्ण प्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको समेत उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *