अष्ट्रेलियामा नेपाल चिनाउने ‘नेपाल फेष्टिवल सिड्नी’ शनिबार हुँदै, तयारी पुरा भएको आयोजकको भनाई
- मंसिर ६, २०८१
- 0
अष्ट्रेलियाको सिड्नीमा आगामी शनिबार नोभेम्बर २३ मा हुने ‘नेपाल फेष्टिवल सिड्नी’ तयारी पुरा भएको छ । फेष्टिवलमा सहभागी हुनेहरु धमाधा सिड्नी आउन थालेपछि आयोजकले महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको फेष्टिवलमा पहिलोपटक न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्स प्रमुख अतिथिका रुपमा सहभागी हुने जनाइएको छ ।
हरेक दुई वर्षमा एनआरएनएले आयोजना गर्दै आएको फेष्टिवल सिड्नीको पर्यटकीय स्थल डार्लिङ्ग हार्बरस्थित टुम्बालोङ्ग पार्कमा हुँदैछ ।
नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ नेपाल फेष्टिवल आयोजना हुने गरेको छ । महोत्सवमा प्रिमियरका साथै अस्ट्रेलियाका उच्च राजनीतिक नेता तथा सांसदहरुको समेत सहभागिता रहने आयोजक तथा एनआरएनए ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेलले जानकारी दिए ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले महोत्सवको तयारी पुरा भएको जनाउँदै फेष्टिवलमा ३० हजार बढीले अवलोकन गर्ने आंकलन गरिएको जनाए । उनका अनुसार महोत्सवमा नेपाली खाना, गरगहना, हस्तकला, पर्यटन लगायतका बिभिन्न स्टलहरु राखिनेछ भने महोत्सवका आगन्तुकका लागि बिभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
महोत्सवमा सहभागीलाई नेपाल चिनाउने उद्देश्यका साथ नेपाल हाउसको स्थापना गरिनेछ । जसमा धरहरा, ढुङ्गेधारा, पशुपतिनाथ, बौद्ध स्तुपा लगायतका प्रतिमाको स्थापना हुनेछ । महोत्सवको सुरुवातमा नेपाली पोशाक तथा बाजागाजासहित सिड्नी शहरको मुख्य क्षेत्रमा सांस्कृतिक परेडको आयोजना हुनेछ ।
कार्यक्रमलाई सांगितिक बनाउका लागि नेपाली ब्याण्ड द एक्स, गायक हेमन्त शर्मा र गायिका आस्था राउतका साथै स्थानीय नेपाली कलाकारले आफ्नो सांगितिक प्रस्तुती दिनेछन् ।
महोत्सवले विदेशीलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने र नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास आयोजकको छ ।