संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

news-details

काठमाडौं। नेपालमा गएको विनाशकारी रसुवा–भोटेकोशी हिमपहिरो तथा महाप्रलयबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा नेपाली रुपैयाँ ८ लाख (HK$ 39,716) आर्थिक सहयोग गरेको छ।

नेपाल सरकारले आह्वान गरेको आर्थिक सहयोग कार्यक्रमअन्तर्गत समाजले उक्त रकम हङकङस्थित नेपाली महावाणिज्यदूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो।

देश प्राकृतिक विपत्तिबाट शोकमा डुबिरहेको यस दुःखद् घडीमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको संखुवासभा समाज हङकङले जनाएको छ।

संखुवासभा समाज हङकङका अध्यक्ष प्रकाश गुरुङले नेपालमा हुने कुनै पनि महाविपत्तिमा समाज सधैँ साथ र सहयोगमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विपद्का बेला मातृभूमि नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउनु प्रवासमा रहेका नेपालीको दायित्वसमेत भएको बताउँदै नेपालमा समस्या पर्दा समाजले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

प्राकृतिक विपत्तिका समयमा प्रवासी नेपाली समुदायबाट प्राप्त यस्तो सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका पूर्व अध्यक्ष लगायत पदाधिकारी तथा शुभेच्छुकहरूको पनि उपस्थिति थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया