नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा स्वास्थ्य उपचारका क्रममा रहँदै मुलुकका राजनीतिक दलहरूलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति, संवाद र सहकार्यको संस्कृतिलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा देउवाले लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।
उनले मुलुक अहिले विभाजन होइन, एकता चाहिएको अवस्थामा रहेको उल्लेख गर्दै अविश्वासको राजनीति अन्त्य गरी विश्वास, सहकार्य र राष्ट्रिय संवादलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। इतिहासबाट प्राप्त अनुभव, नयाँ पुस्ताको ऊर्जा र प्रविधिलाई उपयोग गर्दै साझा भविष्य निर्माणमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।
देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्रिय सहमति कायम गर्न सके मात्रै लोकतन्त्र, संविधान र राष्ट्रियता थप मजबुत बन्ने उल्लेख गरेका छन्।
स्वास्थ्य उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको उल्लेख गर्दै देउवाले नेपालका पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन्।
उनले लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै संविधान, विधिको शासन र नागरिक अधिकारको रक्षाका लागि नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहने बताएका छन्।
सन्देशको अन्त्यमा देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा तथा आम नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।










