काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच कुल १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित समारोहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २) का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो।

डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डा को उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वा ले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २) का लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन गरिनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

त्यसैगरी दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) तथा लजिष्टिक्स सुधार कार्यक्रम–उपकार्यक्रम–२ अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। यो रकम भन्सार कार्यप्रक्रियाको आधुनिकीकरण, लजिष्टिक्स सेवाको सुधार तथा सम्बन्धित सुधार कार्यक्रमका लागि बजेटरी सहायताका रूपमा परिचालन हुनेछ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा द्विपक्षीय साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

एडीबी अध्यक्ष मासातो कान्डाले नेपालसँग रहेको करिब छ दशक लामो सहकार्य आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको आन्तरिक तथा बाह्य चुनौती सामना गर्न एडीबी निरन्तर सहयोगी रहने तथा नेपालको विकास प्राथमिकता र बैंकका प्राथमिकताबीच स्पष्ट समानता रहेको उल्लेख गरे ।

समारोहमा नेपाल सरकार तथा एडीबीका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।