काठमाडौँ। जिल्ला अदालत काठमाडौँले गाली बेइज्जतीसम्बन्धी मुद्दामा राजधानी दैनिक र उसका तत्कालीन सम्पादक सरोज मिश्रविरुद्ध सजाय तथा क्षतिपूर्तिको फैसला गरेको छ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद र एक हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। साथै पीडित शोभा कार्कीलाई दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।

हालै सार्वजनिक गरिएको फैसलाको पूर्णपाठअनुसार राजधानी दैनिक पत्रिकालाई समेत पीडितलाई दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश गरिएको छ। यससँगै प्रकाशित समाचारका कारण भएको क्षतिको दायित्व पत्रिका र सम्पादक दुवैमाथि निर्धारण भएको छ।

यो मुद्दा राजधानी दैनिकले २०८० साल साउन ६ गते प्रकाशित गरेको ‘सेनाका कानुनतर्फका तीन कर्नेलको मनपरी’ शीर्षकको समाचारसँग सम्बन्धित हो। उक्त समाचारले आफ्नो चरित्रहत्या गरेको दाबी गर्दै शोभा कार्कीले गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको थियो।

सोही मुद्दाको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँले सम्पादकलाई कैद तथा जरिवानाको सजाय सुनाउनुका साथै पीडितलाई क्षतिपूर्ति दिलाउने आदेश दिएको हो।