काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। छुटेका सदस्यहरूको विवरण मिलान तथा नयाँ सदस्यता व्यवस्थापनका लागि असार २० गतेसम्मको समय तोकिएको हो।

पार्टीले जेठ २८ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेकाहरूलाई असार २० गतेसम्म अवसर दिएको जनाएको छ। सदस्यता अद्यावधिक प्रक्रियाका लागि भुवन ओझालाई सम्पर्क व्यक्ति तोकिएको छ।

नयाँ कार्यतालिकाअनुसार नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण तथा अद्यावधिक, नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनका क्रममा स्थगन भएका सदस्यहरूको नवीकरण एवं अद्यावधिक र स्थानान्तरण भएका सदस्यहरूको विवरण मिलाउने काम असार २० गतेभित्र सम्पन्न गर्नुपर्नेछ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिहरूको सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणका लागि असार १० गतेसम्मको समय दिइएको छ। कांग्रेससँग समाहित भएका संगठन तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको काम पनि असार २० गतेभित्रै टुङ्ग्याउने कार्यतालिका बनाइएको छ।

यी सबै प्रक्रियाका लागि आवश्यक समन्वय गर्न पार्टीले सम्बन्धित सम्पर्क व्यक्तिसमेत तोकेको जनाएको छ।

यसअघि क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर कांग्रेसभित्र विवाद देखिएको थियो। पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले सदस्यता अद्यावधिक नगर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

बाँकी रहेका सदस्यहरूको विवरण व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ तालिका ल्याइएको कांग्रेसले जनाएको छ। सभापति गगन थापाले समेत सदस्यता अद्यावधिक नगर्ने सदस्यलाई पार्टीको प्रक्रियामा समेट्न नसकिने संकेत दिइसकेका छन्।