काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन सरकारसँग औपचारिक माग गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले संसद्मा देखिएको प्रधानमन्त्रीको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको घटनालाई उनले असामान्य भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे। “आफ्नै सरकारको नीति कार्यक्रम प्रस्तुत भइरहँदा बीचमै उठेर हिँड्ने प्रधानमन्त्री संसारमा कतै देखिएको छ ? अब त यस्तो ‘रेकर्ड’ गिनिज बुकमा नै दर्ता हुने हो कि भन्ने अवस्था आयो,” उनले भने।

यद्यपि, उनले प्रधानमन्त्रीको आलोचना मात्र नगरी सम्भावित स्वास्थ्य समस्यातर्फ पनि संकेत गरे। “सामाजिक सञ्जालमा जस्तो सिधै अमर्यादित व्यवहार भन्न म चाहन्नँ। यस्तो पनि हुन सक्छ—अचानक स्वास्थ्यमा गम्भीर समस्या आएर उहाँ बाहिरिनु भएको हो,” उनले भने, “यदि त्यस्तो हो भने सरकार तुरुन्त स्वास्थ्य परीक्षण गराएर यथार्थ संसद्लाई जानकारी गराओस्।”

कांग्रेसले प्रधानमन्त्रीको उक्त व्यवहारले संसद्को गरिमा घटेको, जनताको मन दुखेको र देशको प्रतिष्ठामा असर परेको अनुभूति भएको पनि जनाएको छ। बजेट अधिवेशनको सन्दर्भ जोड्दै आङ्देम्बेले सरकारले संसद्लाई पर्याप्त महत्व नदिएको आरोप लगाए। पूर्वबजेट छलफलका लागि समय नदिइएको भन्दै उनले सरकार आदेशमुखी शैलीतर्फ उन्मुख भएको टिप्पणी गरे।

संविधान संशोधनजस्तो संवेदनशील विषयमा समेत सरकार अपरिपक्व देखिएको उनको आरोप थियो। उनले सर्वपक्षीय सहभागितामा, सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।

यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह ले सामाजिक सञ्जालमार्फत स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बाहिरिएको दाबी गरेका थिए। तर उक्त स्पष्टीकरण केही समयमै हटाइएको भन्दै कांग्रेसले त्यसबारे थप स्पष्टता मागेको छ।

कांग्रेसले प्रधानमन्त्री कुनै एक दलको मात्र नभई सम्पूर्ण देशको सम्पत्ति भएको उल्लेख गर्दै उनको स्वास्थ्य अवस्थाबारे पारदर्शी जानकारी दिनुपर्नेमा जोड दिएको छ।