काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ । ‘हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन,’ वाग्लेले भने, ‘निर्वाचनको बेला होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैं अग्रस्थानमा छ ।’
उनले उक्त लक्ष्य हासिल गर्न करिब सात वर्षको समयावधि लाग्न सक्ने उल्लेख गर्दै आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सबैमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनका अनुसार अर्थतन्त्रलाई फराकिलो बनाउने र नयाँ उचाइमा पु¥याउने जिम्मेवारीमा निजी क्षेत्र प्रमुख साझेदार हो ।
अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।
‘रोजगारी सिर्जनादेखि लिएर उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ,’ उनले भने । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने बताए । साथै, निजी क्षेत्रको विश्वास जित्दै आर्थिक सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।
सरकारले ल्याउन लागेको ‘निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ । यसले दीर्घकालीन आर्थिक वृद्धि र स्थायित्वमा योगदान पु¥याउने विश्वास सरकारको छ ।
राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ :चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ६० वर्षको यो कालखण्डले साना, मझौला र ठूला सबै व्यवसायीलाई एउटै मञ्चमा जोड्दै राष्ट्रिय उद्यमशीलता र आर्थिक रूपान्तरणको मार्ग प्रशस्त गरेको ढकालको भनाई छ । कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ ।’
सरकारले महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरेकोमा आभार व्यक्त गर्दै यसले व्यवसायीलाई भौतिक र नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरिएको छ । नीतिगत सुधारका लागि सरकारले दोस्रो चरणको आर्थिक सुधार प्रक्रिया सुरु गर्नु र केही पुराना कानुन खारेजीको निर्णय गर्नुलाई महासंघले सकारात्मक कदम मानेको छ ।
दोस्रो चरणको आर्थिक सुधारका लागि महासंघकै पहलमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई कार्य अघि बढेको छ । बागलुङको ढोरपाटन बैठकबाट मार्गचित्र तयार पारिएको यो सुधार प्रक्रियाले कानुनी स्थायित्व, सदाचारको प्रवद्र्धन र प्रविधिको उच्चतम प्रयोगमा जोड दिएको छ । ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ मार्फत कानुनको संशोधन र परिमार्जन गर्दै ऊर्जा, कृषि, खनिज र पर्यटन क्षेत्रको भरपूर सदुपयोग गर्ने लक्ष्य महासंघले राखेको छ ।
स्वदेशी पुँजी परिचालन गर्न महासंघको अग्रसरतामा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ’नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना भई कार्य सुरु भइसकेको छ। यसले ४० देखि ५० अर्बसम्मका ठूला आयोजना सञ्चालन गर्न सक्ने र ’नेपालमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्ने विश्वास लिइएको छ । साथै, वैदेशिक लगानी आकर्षित गर्न विभिन्न मुलुकमा बिजनेस समिटहरू आयोजना गरी सुशासन र प्रविधिको प्रयोगमार्फत लगानीकर्ताको विश्वास जित्ने प्रयास भइरहेको छ ।
मुलुकमा रोजगारीको समस्या गम्भीर रहेको उल्लेख गर्दै महासंघले वार्षिक ७ लाख युवा कामको खोजीमा विदेशिनु पर्ने बाध्यतालाई चिर्नुपर्ने बताएको छ । निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको भए पनि प्रत्येक वर्ष श्रम बजारमा आउने ५ लाख नयाँ शक्तिलाई खपत गर्न अझै ठूलो लगानी र सुरक्षित वातावरण आवश्यक छ । छिमेकी मुलुकहरूको आर्थिक प्रगतिलाई उदाहरण मान्दै नेपालमा पनि उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्छ ।
महासंघले प्रतिकूलतामा पनि अनुकूलता खोज्दै निराशालाई आशामा बदल्ने संकल्प गरेको छ । आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउन आग्रह गर्दै ’निजी क्षेत्रको सम्मान समृद्धिको आधार’ भन्ने नारालाई सार्थक बनाउन सबै सरोकारवालालाई आह्वान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्र सरकारसँग काँधमा काँध मिलाएर हिँड्न तयार रहेको सन्देश प्रवाह गरिएको छ ।








