रूपन्देही । कपिलवस्तु नगरपालिका वडा नं १२ पिपराहवामा रोकिरहेको ट्रकमा भारतीय नम्बर प्लेटको स्करपियओ ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

शनिबार राति बहादुरगंजबाट तौलिहवा आउँदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्करपियो सडकको किनारमा रोकिरहेको लु१ख ९५४९ नम्बरको ट्रकसँग ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महाराजगंज नगरपालिका वडानम्बर ११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धर्मनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारक्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए ।

दुर्घटनामा घाइते भएका महाराजगंज नगरपालिका वडानम्बर–११ बनगाईका ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० लालपुरका २८ बर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० बर्षीय सुरेश कुर्मीको उपचार भइरहेको ढकालले बताए । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।