काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
गृह मन्त्रालयका अनुसार आज भएको भेटघाटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भेटवार्ताका क्रममा दुई देशबीच आप्रवासनसम्बन्धी विषयमा सहकार्य बढाउनेबारे पनि छलफल भएको थियो। सो अवसरमा गृहमन्त्री गुरुङले उक्त विषय हाल दुवै पक्षबीच छलफलको प्रक्रियामा रहेको जानकारी दिएका थिए।
त्यसैगरी नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायतका कसूरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकहरूमा जम्मा गरेको विषयमा अनुसन्धान गर्न दुई देशबीच सहकार्य आवश्यक रहेको गृहमन्त्री गुरुङले बताएका छन्। उनले त्यस्तो रकम जम्मा भएको पुष्टि भएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउन आवश्यक पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए।
भेटघाटका क्रममा राजदूत मैवलीले गृहमन्त्री गुरुङको विपद् व्यवस्थापन क्षेत्रमा एक दशकभन्दा बढी अनुभव र योगदानप्रति सम्मान व्यक्त गर्दै नेपालमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणाली सुदृढ बनाउन स्वीस सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
दुवै पक्षले नेपाल र स्वीजरल्याण्ड बीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा आपसी सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।








