काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पहिलो पटक सम्बोधन गर्दै सांसद शम्भु सुस्केरा ढकालले झापामा हालैको हावाहुरी, वर्षा र असिनाले कृषि क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
ढकालले आफ्नो निर्वाचन क्षेत्रका किसानहरू गम्भीर संकटमा परेको उल्लेख गर्दै फागुनको अन्तिम सातादेखि आएको प्राकृतिक विपत्तिका कारण मकै, गहुँ, फापर, तरकारी, केरा तथा मौरीपालनमा व्यापक क्षति भएको जानकारी दिए।
उनका अनुसार नेपालकै सबैभन्दा बढी मकै उत्पादन हुने क्षेत्रमध्ये पर्ने झापा गाउँपालिकामा ६१०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५२०० हेक्टरमा मकै खेती गरिन्छ भने बारदशी गाउँपालिकामा मात्रै ४८०० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। तर हालैको हावाहुरी र असिनाका कारण किसानले लगाएको बालीमा ठूलो नोक्सानी पुगेको उनले बताए।
कृषि ज्ञान केन्द्र झापाको तथ्यांक उद्धृत गर्दै ढकालले झापा गाउँपालिकामा मात्रै ३३७२ हेक्टर क्षेत्रफलको मकै बाली नष्ट भई करिब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए। त्यस्तै कन्काई, शिवसताक्षी, भद्रपुर, बिर्तामोड र गौरादह नगरपालिका तथा बाह्रदशी, हल्दीबारी, कचनकवल र कमल गाउँपालिकामा गरी करिब ११ हजार ७ सय हेक्टर क्षेत्रफलमा लगाइएको बाली नष्ट हुँदा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए।
सांसद ढकालले आंशिक बाली क्षति तथा घरहरूमा भएको क्षति भने उक्त विवरणमा समावेश नभएको स्पष्ट पारे। उनले गत वर्ष २०८२ असोजमा आएको बाढीका कारण धान समेत भित्र्याउन नपाएका किसानले अहिलेसम्म कुनै राहत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
“धान गुमेपछि ऋण गरेर धान किनेर भात खान बाध्य किसानले मकैले उकास्ला भन्ने आशा गरेका थिए। तर अहिले मकै नै नष्ट भएपछि किसान झन् ठूलो संकटमा परेका छन्,” उनले भने।
ढकालका अनुसार धेरै किसानले केरा, तरकारी वा मकै बेचेर वर्षभरि घरखर्च, औषधि उपचार, स्कुल–कलेज शुल्क जस्ता आवश्यक खर्च धान्ने गरेका थिए। तर अहिले बाली नष्ट भएपछि उनीहरू जीवनयापनकै समस्यामा परेका छन्।
उनले सरकारलाई सम्भव भए पूर्ण क्षतिपूर्ति दिन, नभए कम्तीमा मल, बिउ, खेतालाको ज्याला तथा परिवारको चुलो जल्ने गरी राहत व्यवस्था गर्न आग्रह गरे। साथै कृषि मन्त्रीलाई क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि झापाली जनताको तर्फबाट निमन्त्रणा समेत दिएका छन्।
सांसद ढकालले कृषि बिमा प्रणाली प्रभावकारी नभएको उदाहरण पनि प्रस्तुत गरे। भद्रपुरका किसान खगेन्द्र महतोले २२ बिघा क्षेत्रफलमा लगाएको तरकारी बाली नष्ट भएको जानकारी दिँदै बिमा किन नगरेको भनेर सोध्दा “नोक्सान हुने बालीको बिमा नै हुँदैन” भन्ने जवाफ पाएको उनले बताए।
यस सन्दर्भमा उनले सरकारलाई अनुदानसहितको बाली बिमा कार्यक्रम अनिवार्य बनाउन सुझाव दिएका छन्। किसान निराश भए युवाको विदेश पलायन अझ बढ्ने चेतावनी दिँदै उनले कृषिप्रति राज्यको नीतिगत सुधार आवश्यक रहेको बताए।
उनले नेपालमा अहिले करिब १० लाख ३१ हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै यसले करिब १७१ वटा पालिकाको क्षेत्रफल बराबर हुने बताए। जनशक्ति अभावका कारण सीमापारिबाट मानिस आएर खेती गर्ने र अत्यधिक रसायनिक मल तथा प्रतिबन्धित विषादी प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने चेतावनी पनि दिए।
कृषि उत्पादनसँगै उद्योग र बजारको सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै उनले कृषि नीति मानव स्वास्थ्य र आर्थिक समृद्धि दुवैलाई ध्यानमा राखेर ल्याउन सरकारलाई आग्रह गरे।
साथै गोदाममा युरिया मल भए पनि किसानले नपाएको गुनासो आएको भन्दै त्यसको समाधान गर्न उनले माग गरे। उनले चैत १६ गतेको हावाहुरीले शिवगञ्जमा ढलेको विद्युत पोल दुई हप्तासम्म नउठाइएको भन्दै ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको ध्यानाकर्षण पनि गराएका छन्।








