नेपालको संसदीय राजनीतिमा ‘कास्टिङ भोट’ को हैसियत बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्यको चौथो मर्यादित पद ‘सभामुख’ मा आफ्ना उपसभापति डोलप्रसाद अर्याललाई उभ्याएकोमा उनी निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित सभामुख अर्यालले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

तर, यो यात्रा जति सहज देखिन्छ, यसको जग उति नै संघर्षपूर्ण छ। २०४९ साल धादिङबाट एक युवक भविष्यको खोजीमा काठमाडौं छिर्छन्। हातमा कुनै ठूलो डिग्री थिएन, तर सपनाको भारी ठूलै थियो। काठमाडौंका रेस्टुरेन्टमा जुठा प्लेट उठाउने र ग्राहकको अर्डर टिप्ने तिनै युवक आज ३४ वर्षपछि देशको नीति निर्माण गर्ने थलो ‘प्रतिनिधिसभा’ को बागडोर सम्हाल्ने अन्तिम तयारीमा छन्।

डोलप्रसाद अर्याल, अर्थात् डिपी—जसको राजनीतिक यात्रा कुनै व्यावसायिक धावकको गतिभन्दा कम छैन।

४२ महिनाको छलाङ

नेपाली राजनीतिमा दशकौँ संघर्ष गरेर पनि मन्त्रीको कुर्सीसम्म पुग्न नसक्नेहरूको भीड ठूलो छ। तर अर्यालले राजनीतिमा औपचारिक पाइला टेकेको जम्मा ४२ महिना १३ दिन भयो। २०७९ असार ७ गते रास्वपा गठन हुँदा उनी संस्थापक सदस्य थिए।

पार्टीभित्र ‘कुल हेड’ (शान्त स्वभाव) मानिने अर्यालको यो उदयका पछाडि मुख्य दुई कारण देखिन्छन् :

१. पार्टी सभापति रवि लामिछानेसँगको अटुट विश्वास।

२. राजनीतिक संवादमा उनको ‘सफ्ट’ तर स्पष्ट शैली।

जब-जब रवि लामिछाने कानुनी संकटमा परे, अर्यालले पार्टीको डुंगालाई किनारा लगाए। नागरिकता विवाददेखि सहकारी ठगी प्रकरणसम्म, अर्यालले लामिछानेको ‘ब्याकअप’ मात्र गरेनन्, सरकार र अन्य दलसँग सेतुको काम पनि गरे। सायद त्यही वफादारीको पुरस्कार स्वरूप उनले सभामुखको अवसर पाएका हुन्।

रेस्टुरेन्ट, जापान र रेमिटेन्स: व्यावसायिक पृष्ठभूमि

अर्यालको विगत कुनै सिनेमाको पटकथा जस्तो लाग्छ। रेस्टुरेन्टको मजदुरी पछि उनी पर्यटन क्षेत्रमा ‘टुरिस्ट गाइड’ बने। त्यसपछि अध्ययन र रोजगारीका लागि सन् १९९७ मा जापानको ओसाका पुगे।

जापानबाट फर्केपछि उनले पछाडि फर्केर हेर्नु परेन। उनले शिक्षा, भाषा शिक्षण र रेमिटेन्स (विप्रेषण) मा आफ्नो साम्राज्य फैलाए। रवि लामिछानेसँगको उनको भेट पनि व्यावसायिक सिलसिलामै भएको थियो। लामिछाने टेलिभिजनमा चम्किँदा अर्याल उनका प्रशंसक र व्यावसायिक साझेदार जस्तै थिए। पछि त्यही ‘फ्यान’ र ‘स्टार’ को सम्बन्ध राजनीतिक सहयात्रीमा बदलियो।

गृहको मोह, सभामुखको बाध्यता

स्रोतका अनुसार, अर्यालको पहिलो रोजाइ सभामुख थिएन। उनी वर्तमान सरकारमा गृहमन्त्री बन्न चाहन्थे। सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग अर्यालका लागि ‘लबिइङ’ पनि गरेका थिए। तर, बालेनले ‘जेनजी’ आन्दोलनका तन्नेरी नेता सुधन गुरुङलाई गृहमन्त्री बनाउने अडान लिएपछि अर्यालको व्यवस्थापन सभामुखमा गरिएको हो।

“पार्टीले मलाई जुन जिम्मेवारी दिन्छ, म त्यो कुशलतापूर्वक निभाउँछु। मेरो विगतको संघर्षले मलाई धैर्य सिकाएको छ,” अर्यालले उम्मेदवारीपछि संक्षिप्त प्रतिक्रिया दिएका छन्।

चुनौती: निष्पक्षताको कसी

सभामुखको कुर्सी काँडाको ओछ्यान हो। नेपालको संसदीय इतिहासमा २०४८ सालका सभामुख दमननाथ ढुंगानालाई अहिलेसम्मकै निष्पक्ष मानिन्छ। त्यसपछिका प्रायः सभामुखहरूमाथि ‘आफ्नो दलको कार्यकर्ता’ बनेको आरोप लाग्दै आयो।

अर्यालका अगाडि मुख्य तीन चुनौती छन्:

दलविहीनताको अभ्यास: रास्वपाको उपसभापति पद त्यागेपछि उनले सदनमा आफ्नो ‘कोर’ मतदाता र पार्टीको प्रभावबाट कति टाढा रहलान् ?

शक्ति सन्तुलन: झण्डै दुई-तिहाइ बहुमत भएको सत्तापक्षको लाहाछाप बन्ने कि विपक्षीको आवाज सुन्ने ?

अनुभवको कमी: संसदीय प्रक्रियामा उनी तुलनात्मक रूपमा नयाँ हुन्। जटिल संवैधानिक प्रश्नहरू उठ्दा उनले कसरी समन्वय गर्छन् ?

निष्कर्ष

२० सिटबाट सुरु भएको रास्वपाले आज १८२ सांसदको नेतृत्व गर्दै सभामुख पद हात पार्नु नेपाली राजनीतिको ‘प्याराडाइम सिफ्ट’ हो। रेस्टुरेन्टमा सेवा दिने हातहरूले अब लोकतन्त्रको सेवा कसरी गर्छन्, त्यो चैत २२ गतेपछि सुरु हुने उनको कार्यकालले नै बताउनेछ।

अर्यालको यो यात्रा केवल एक व्यक्तिको सफलता होइन, यो परिवर्तन खोजिरहेको एउटा तप्काको प्रतिनिधित्व पनि हो। तर, उनको सफलताको मापन उनले गर्ने ‘निर्णय’ ले होइन, उनले गर्ने ‘न्याय’ ले गर्नेछ।