नेपाली कांग्रेसको इतिहासमा विरलै मात्र यस्ता संयोग जुर्छन्, जहाँ दोस्रो पुस्ताका दुई प्रभावशाली नेताहरूको ‘केमेस्ट्री’ ले सिंगो पार्टी पंक्तिलाई नै तरंगित बनाउँछ । आज सोमबार जारी कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिनसम्म आइपुग्दा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सहयात्रा केवल एउटा राजनीतिक समीकरण मात्र नभएर, कांग्रेसको भविष्य कोर्ने ‘रोडम्याप’ का रूपमा स्थापित भएको देखिन्छ ।
फरक–फरक गुट र प्यानलबाट १४औं महाधिवेशनमा होमिएका यी दुई नेतालाई कांग्रेसका आम कार्यकर्ताले मतपत्र मार्फत ‘एकै ठाउँमा’ उभ्याइदिएका थिए । २०७८ को पुसमा महामन्त्री निर्वाचित हुँदै गर्दा गगन–विश्वको जोडीमा कार्यकर्ताले जुन भरोसा देखेका थिए, आजको विशेष महाधिवेशन त्यसैको मूर्तरूप हो ।
पृष्ठभूमिको समानता र संघर्षको जग
गगन र विश्वको सहयात्रा भावनात्मक मात्र होइन, संघर्षको समान जगमा उभिएको छ । दुवै नेताको राजनीतिको आधारभूमि ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ) हो र दुवैले कलिलो उमेरदेखि नै लोकतन्त्रका लागि कठोर संघर्ष गरेका छन ।
तथ्यलाई केलाउँदा, गगन थापा २०४६ सालको जनआन्दोलन ताका कक्षा ९ मा पढ्दादेखि नै सडकमा होमिएका थिए भने विश्वप्रकाश शर्मालाई पनि ४२ वर्षअघि कक्षा ९ मा पढ्दै गर्दा (२०४१ सालमा) राजनीतिक आरोपमा गिरफ्तार गरिएको थियो । विद्यालय स्तरको त्यो बाल जोसलाई दुवै नेताले क्याम्पस र केन्द्रीय राजनीतिसम्म आइपुग्दा परिपक्व नेतृत्वमा रूपान्तरण गरेका छन ।
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको महामन्त्रीसम्मको गगन थापाको यात्रा र झापाको विद्यालय ईकाइ सभापतिदेखि नेविसंघ केन्द्रीय अध्यक्षसम्मको विश्वप्रकाश शर्माको यात्रा अन्ततः कांग्रेसको ‘महामन्त्री’ पदमा आएर मिलन भएको छ । यी दुवै नेताले आ–आफ्नो समयमा नेविसंघको नेतृत्व सम्हालेको अनुभवले उनीहरूलाई संगठनको नसा छाम्न सक्ने क्षमता प्रदान गरेको छ ।
१४ औं महाधिवेशन
मिलनविन्दु यो सहयात्राको सबैभन्दा रोचक पक्ष १४औं महाधिवेशनको जनादेश हो । गगन थापा शेखर कोइराला समूहबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट उम्मेदवार बनेका थिए । तर, नतिजा आउँदा ४,६८२ मतमध्ये थापा ३,०२३ (सर्वाधिक) र शर्मा १,९८४ मत प्राप्त गरी विजयी भए ।
डा. प्रकाशशरण महत र प्रदीप पौडेलजस्ता हस्तीहरूलाई पछि पार्दै कार्यकर्ताले यी दुईलाई जिताउनुको अर्थ स्पष्ट थियो– ‘हामीलाई गगनको जोस र विश्वको होस सहितको संयुक्त नेतृत्व चाहिन्छ ।’ आज विशेष महाधिवेशनको मञ्चमा उभिँदा उनीहरूले त्यही जनादेशलाई न्याय गर्दै छन ।
परिवर्तनका लागि साझा संकल्प महामन्त्रीद्वयको यो जोडीले ‘रूपान्तरित कांग्रेस’ को एजेन्डालाई मुख्य बटमलाइन बनाएको छ । गगन थापाको संसदीय अनुभव (संविधानसभादेखि स्वास्थ्य मन्त्रीसम्मको भूमिका) र विश्वप्रकाश शर्माको सांगठनिक तथा वाककला (प्रवक्ताको भूमिका) एकआपसमा मिसिँदा पार्टीभित्र रचनात्मक हस्तक्षेपकारी शक्ति निर्माण भएको छ ।
उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाको सम्मानजनक बहिर्गमनको वकालत गर्दै, गुट र कृपावादबाट माथि उठेर ‘नीति प्रधान’ पार्टी बनाउने संकल्प गर्नुभएको छ । पूर्वमहामन्त्री तारानाथ रानाभाटदेखि संस्थापन पक्षकै गोपालमान श्रेष्ठसम्मलाई एउटै मञ्चमा ल्याउन सक्नु गगन–विश्वको ‘कन्भिन्सिङ पावर’ र स्वीकार्यताको प्रमाण हो ।
आजको दिनः
सहयात्राको परीक्षा विशेष महाधिवेशनको आज (सोमबार) दोस्रो दिन, महामन्त्रीद्वयको सहयात्रा ‘भाषण’ बाट ‘एक्सन’ मा प्रवेश गरेको छ । उनीहरूले महाधिवेशनलाई केवल विरोधको थलो नबनाई नीतिगत मन्थनको प्रयोगशाला बनाएका छन ।
आज महामन्त्रीद्वयको योजना अनुरुप नै सहभागीहरूलाई ९ वटा समूहमा विभाजन गरी चार गम्भीर विषयमा छलफल प्रारम्भ गरिएको छः १. विधान संशोधन २. नीति र नेतृत्व ३. शासकीय सुधार ४. समसामयिक विषय
गगन–विश्वको जोडीले अघि सारेको यो विधिले कांग्रेसलाई भीडतन्त्रबाट विवेकको बाटोमा डो¥याउन खोजेको देखिन्छ । नीति मन्थनपछि मात्र नेतृत्वको बहस गर्ने उहाँहरूको वैज्ञानिक खाकाले कांग्रेसभित्रको ‘जेनजी’ (युवा) पुस्तालाई आश्वस्त पारेको छ ।
निष्कर्ष
गगन थापा र विश्वप्रकाश शर्माको यो सहयात्रा कांग्रेसको आन्तरिक जीवनमा मात्र सीमित छैन । यसले समाजमा समानता, न्याय र समृद्धिको आशा जगाएको छ । यदि आजको समूहगत छलफलबाट नेतृत्व परिवर्तन र पार्टी सुधारको ठोस म्यान्डेट प्राप्त भएमा, गगन–विश्वको यो साझेदारी नेपालको लोकतान्त्रिक इतिहासमा ‘टर्निङ प्वाइन्ट’ साबित हुने निश्चित छ ।








