काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् ।

सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन् ।

उनले भने,‘प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो बल प्रयोग गर्ने, गोली चलाउने कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।’

त्यस्तै उनले प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने जानकारी गराए ।