काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ ।
सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो ।
कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ । महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।
विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो ।
उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेर बहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिका यसप्रकार छः
–मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने
–जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।
–क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।
–नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।
–विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।
–गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।
–गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।
–प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।
–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।
–एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।
–प्रदेश अधिवेशन २३ र २४ गते ।
महाधिवेशन पुस २६, २७ र २८ गते ।








