गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन । हामी कुनै अपेक्षाले आएका होइनौ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौ । देशको विशिष्ट अवस्थामा, शून्यतालाई पुरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन’, गृहमन्त्री अर्यालले भने, ‘प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचीत सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं ।’

अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको उनको भनाइ छ । मन्त्री अर्यालले सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको प्रष्ट पारे ।

‘भयरहित निस्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनि प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं’, मन्त्री अर्यालले भने ।