सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।
कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल आज साँझ ७ः३० बजे कोरिया प्रस्थान गरेका हुन । मन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन । सर्वसाधारण कक्षबाटै प्रस्थान गरेका सञ्चारमन्त्री खरेललाई मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले विदाई गरेको छ ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोवल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरु सञ्चालन हुनेछन् ।
डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडीजीहरु र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषय अन्तर्गत फोरममा एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओ पीडीआर, भियतनाम, काजकिस्तान, मंगोलिया र उब्जेकिस्तानका मन्त्रीहरु र वरिष्ठ नीति निर्माताहरु सहभागी हुनेछन् । एशिया प्रसान्तका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुपनि सहभागि हुने जनाइएको छ ।
मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने तालिका छ ।








