बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न जिल्लापछि उच्च अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै कानुन व्यवसायीले बिहीबार दोस्रो पटक सुनुवाइ स्थगनको माग गरेसँगै आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सुनुवाइ स्थगित भएको छ ।

साप्ताहिक पेशीअनुसार लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवलमा ३ नम्बर इजलासमा परेको थियो । उच्च अदालतमा यो मुद्दाको छैटौँ पेशी हो ।

पहिलो पेशीमा लगाउको आदेश भएको थियो भने दोस्रो पेशी जिल्लाको मिसिल झिकाउन आदेश भएको थियो, तेस्रोमा छविका कानुन व्यवसायीले रोकेका थिए भने चौथोमा सर्वोच्चको मिसिल झिकाउन आदेश भएको थियो ।

पाँचौँ पेशीपछिको इजलास रविका कानुन व्यवसायीले नै रोकेका थिए भने आज छैटौंठौ पेशीपछिको सुनुवाइ पनि लामिछानेकै कानुन व्यवसायीले रोकेका छन् ।

आजको पेशीअनुसार यो मुद्दा तीन नम्बर इजलासमा न्यायाधीश मिलन राई र सानुमैया डंगोलको बेन्चमा परेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।