सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिवद्धताका साथ लागि परेको बताएका छन ।
ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्ट्राचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री खरेलले भने,“अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्ट्राचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धन जनको क्षतिको अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”
मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मियताको पर्व रहेको उल्लेख गरे । “छठ तराई–मधेशबासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव, आत्मियताको पर्व र पवित्रताको प्रतिक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरुमा हार्दिशक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठीया माताले देशकमा शुख, शान्ति र समृद्धिको लागि हामीलाई आशिर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उनले भने ।
सञ्चारमन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले अगाडि थपे,“आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरबासीहरु जम्मा भएर छठ पर्व मनाइरहेका छौँ, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”
सञ्चारमन्त्री खरेलले साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गरे । साथै उनले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गरे । सञ्चारमन्त्रीलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयबासीले स्वागत गरेका थिए । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनको पनि उपस्थिति थियो ।
छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादवले विगतका वर्षहरुदेखिनै बोजेपोखरीमा छठ पूजा गरिदैँ आएको बताए । उनले छठ पूजा प्रकृतिको पूजा खासगरी मानव मानवलाई जोड्ने माध्यम भएको उल्लेख गरे । अध्यक्ष यादवले सञ्चारमन्त्री खरेलले बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भएर हौशला प्रदान गर्नुभएकोमा खुशी व्यक्त गरे ।
उनले बोजेपोखरीमा वर्षेनी धेरै संख्यामा भक्तजनहरु आउने भएकाले घाट साँघुरो हुदा पूजा व्यवस्थापनमा समस्या भइरहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
महालक्ष्मी नगरपालिका वडा नं ३, बोजेपोखरी संरक्षण तथा विकास समिति र बोजेपोखरी खानेपानी तथा सरसफाई समितिको सहकार्यमा समाजले छठ पूजा आयोजना गरेको हो । सोमबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ पूजा मंगलबार विहान उदाउदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।








