काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले भने ‘मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ ।’

उनले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था अझै पनि विद्यमान रहेको बताउदै भने ‘पत्रकारहरुलाई चौथो अंग भनिन्छ, तर व्यवहारमा त्यो सम्मान छैन । कहिलेकाहीँ राज्यबाट हेपिएको जस्तो महसुस हुने अवस्था आएको छ ।’

उनले पत्रकारहरुको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर भएको उल्लेख गरे । ‘औपचारिक सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘मेरो कार्यकाल पाँच महिनाको मात्र छ, तर यही अवधिमा मैले महसुस गरेको छु—सञ्चार क्षेत्रलाई कोषमा ल्याउन आवश्यक छ ।’

मन्त्री खरेलले औपचारिक क्षेत्रका सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा जानैपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताए ।

साथै उनले सूचना विभाग, प्रेस काउन्सिल लगायतको अनुगमन गरेका छन् ।