प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिँदै शनिबार साँझ विशेष सम्बोधन गरेकी छन्।
अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको बताउँदै प्रधानमन्त्री कार्कीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्।
हाल देशका धेरै नदी–नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना बढेको भन्दै उनले भनिन्, ‘यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन् ।’
प्रधानमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु चौबीसै घण्टा आपतकालीन सेवामा परिचालनमा रहेको बताइन्। उनले सरकार सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरेर स्थानीय तह र नागरिकसँग सहकार्यमा जुटेको जानकारी दिइन्।
नागरिकलाई अपिल गर्दै उनले भनिन्, ‘तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानी वा पहिरोमा आवागमन नगर्नुहोस्।’
प्रधानमन्त्री कार्कीले डुबान वा पहिरो जोखिम क्षेत्रका बासिन्दालाई ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन आग्रह गरिन्। उनले प्रहरी र विपद् व्यवस्थापन निकायद्वारा जारी आधिकारिक चेतावनी र सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरिन्।
‘तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरि चिन्ता हो,’ उनले भनिन्, ‘राज्यका सम्पूर्ण स्रोत आज तपाईंहरुसँग छन्। तपाईं यो कठिन समयमा एक्लो हुनुहुन्न।’
विपद् जोखिमको सम्भावना ध्यानमा राख्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको समेत उनले जानकारी दिइन्।








