दशैँ तिहारको बिदालाई कसरी सदुपयोग गर्ने भनेर सोचिरहनुभएको छ भने, नेपालका सुन्दर ठाउँहरू घुम्ने योभन्दा राम्रो अवसर अरू हुँदैन । दशैँको समयमा मौसम सफा हुने र वातावरण रमाइलो हुने भएकाले घुमफिरका लागि उपयुक्त हुन्छ । चाहे तपाईं हिमालको सुन्दरतामा हराउन चाहनुहुन्छ, चाहे धार्मिक स्थलको यात्रा गर्न वा प्रकृतिको काखमा शान्ति खोज्न, नेपालमा यस्ता धेरै गन्तव्यहरू छन् जसले तपाईंको मन जित्न सक्छन् । यसपालिको दशैँमा विदेश घुम्नुभन्दा पहिले आफ्नै देशको गौरवपूर्ण इतिहास र सुन्दर भूगोलको अनुभव लिनुहोस् । “पहिले नेपाल घुमौं, नेपाल चिनौं” भन्ने नारालाई आत्मसात् गर्दै यहाँ दशैँमा घुम्नका लागि १० उत्कृष्ट स्थानहरूका बारेमा जानकारी दिइएको छ ।
१. अपर मुस्ताङ
अपर मुस्ताङ नेपालको एक प्राचीन र रहस्यमय क्षेत्र हो, जसले तिब्बती संस्कृति र सुन्दर भू–बनोटको अनुपम मिश्रण प्रस्तुत गर्छ । यो ठाउँ दशैँको समयमा घुम्नका लागि उपयुक्त मानिन्छ किनभने यस समयमा मौसम सफा हुन्छ, जसले हिमालहरूको मनमोहक दृश्य देख्न सजिलो बनाउँछ । यहाँको सुनसान भू–बनोट, प्राचीन गुम्बाहरू र चट्टानहरूमा बनेका घरहरूले तपाईंलाई एउटा फरक संसारमा पु¥याएको अनुभव दिन्छन् ।

यात्रा अवधिः सामान्यतया ७ देखि १० दिन ।
यात्रा साधनः सडक मार्गबाट यात्रा गर्न चाहनुहुन्छ भने पोखराबाट जोमसोमसम्मको गाडीमा यात्रा गरी त्यसपछि जीप वा बाइकमा अगाडि बढ्न सकिन्छ । हवाई मार्गबाट जान चाहनुहुन्छ भने पोखराबाट जोमसोम हवाई यात्रा गर्न सकिन्छ। त्यसपछि पैदल वा जीपमा यात्रा गर्नुपर्ने हुन्छ ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति लगभग रु. ३०,००० देखि रु. ५०,००० । यो खर्च यात्राको शैली र अवधिमा भर पर्छ ।
अपनाउनु पर्ने सावधानीः यो क्षेत्र उच्च लेक भएको हुँदा ’अल्टिच्युड सिकनेस’बाट बच्नका लागि बिस्तारै यात्रा गर्नुपर्छ र पर्याप्त पानी पिउनुपर्छ ।
प्रमुख आकर्षण स्थलः यहाँको मुख्य आकर्षण भनेको लो–मन्थाङ दरबार, छुसाङ गुफा, मुस्ताङका गुम्बा तथा चट्टानका घरहरू र घोडा चढेर गरिने यात्रा हो ।
आवश्यक सामग्रीः न्यानो कपडा, हावाबाट बचाउने ज्याकेट, सनग्लास, टोपी, प्राथमिक उपचार सामग्री, टर्चलाइट र पैदल यात्राका लागि उपयुक्त जुत्ता ।
२. मार्दी बेसक्याम्प
मार्दी हिमाल बेसक्याम्प ट्रेक छोटो र रमाइलो ट्रेकिङ गन्तव्य हो, जहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यहरू नजिकबाट देख्न सकिन्छ । यो ट्रेक विशेष गरी कम समयमा हिमालको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ । यसको बाटोमा रहेका जङ्गल, पहाडी गाउँहरू र प्राकृतिक सौन्दर्यले तपाईंको मन लोभ्याउनेछ ।

यात्रा अवधिः सामान्यतया ४ देखि ६ दिन ।
यात्रा साधनः काठमाडौंबाट पोखरासम्म गाडी वा हवाई जहाजमा यात्रा गरी त्यसपछि पोखराबाट काँडे वा नयाँपुलसम्मको गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि पैदल यात्रा सुरु हुन्छ ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति लगभग रु. १०,००० देखि रु. २०,०००।
अपनाउनु पर्ने सावधानीः विशेष गरी वर्षाको समयमा चिप्लो हुन सक्छ । यसका साथै, मौसमको पूर्वानुमान हेरेर मात्र यात्रा सुरु गर्नुपर्छ ।
प्रमुख आकर्षण स्थलः मार्दी हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमालको सुन्दर दृश्य र मनमोहक जङ्गलहरू ।
आवश्यक सामग्रीः ट्रेकिङ जुत्ता, वर्षाबाट बचाउने ज्याकेट, न्यानो कपडा, पानीको बोतल, टर्चलाइट र व्यक्तिगत औषधीहरू ।
३. कालिञ्चोक
कालिञ्चोक एक धार्मिक र पर्यटकीय स्थल हो, जहाँ प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर छ । यो मन्दिरबाट देखिने हिमालको दृश्य र वरपरको प्राकृतिक सुन्दरताले यसलाई दशैँको समयमा घुम्नका लागि एक उत्कृष्ट गन्तव्य बनाएको छ । धार्मिक आस्थाका साथसाथै प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि यो ठाउँ उत्तम छ ।

यात्रा अवधिः २ देखि ३ दिन ।
यात्रा साधनः बस वा जीपमा काठमाडौंबाट चरिकोट हुँदै कुरी गाउँसम्म पुग्न सकिन्छ । त्यसपछि केबल कार वा पैदल यात्रा गरी मन्दिरसम्म जान सकिन्छ ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति लगभग रु. ५,००० देखि रु. १०,०००
अपनाउनु पर्ने सावधानीः हिउँ पर्ने मौसममा सडक अवरुद्ध हुन सक्छ । त्यसैले यात्रा गर्नुअघि मौसमको जानकारी लिनु उचित हुन्छ ।
प्रमुख आकर्षण स्थलः कालिञ्चोक भगवती मन्दिर, हिउँले ढाकेका पहाडहरू, मनोरम दृश्य र कुरी गाउँको शान्त वातावरण ।
आवश्यक सामग्रीः न्यानो कपडा, हिउँ पर्दा आवश्यक पर्ने जुत्ता, रेनकोट, पानीको बोतल र सामान्य औषधी ।
४. आमायाङ्गी पिक
सिन्धुपाल्चोकमा रहेको आमायाङ्गी पिक छोटो तर रमाइलो ट्रेक हो । यो पिकबाट हिमालय र उपत्यकाहरूको सुन्दर दृश्य देख्न सकिन्छ । शहरी कोलाहलबाट टाढा, प्रकृतिको नजिक रहेर दशैँ मनाउन चाहनेहरूका लागि यो एक शान्त र रमणीय गन्तव्य हो ।

यात्रा अवधिः २ देखि ३ दिन ।
यात्रा साधनः बस वा गाडीमा काठमाडौंबाट मेलम्चीसम्म पुगेर त्यसपछि पैदल यात्रा सुरु गर्न सकिन्छ ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति लगभग रु. ४,००० देखि रु. ८,०००
अपनाउनु पर्ने सावधानीः बाटो केही ठाउँमा अप्ठ्यारो हुन सक्छ । त्यसैले अनुभवी साथी वा गाइडको साथ यात्रा गर्नु उचित हुन्छ ।
प्रमुख आकर्षण स्थलः आमायाङ्ग्री पिकको शिखरबाट देखिने हिमाल, घना जङ्गल र प्राकृतिक सुन्दरता ।
आवश्यक सामग्रीः ट्रेकिङ जुत्ता, न्यानो कपडा, पानीको बोतल, खाजा र टर्चलाइट ।
५. अन्नपूर्ण बेसक्याम्प
अन्नपूर्ण बेसक्याम्प ट्रेक नेपालको सबैभन्दा लोकप्रिय ट्रेक मध्ये एक हो । यो यात्राले तपाईंलाई हिमालको नजिक पु¥याउँछ र प्राकृतिक सौन्दर्यको अनुभव दिन्छ । दशैँको समयमा मौसम राम्रो हुने हुँदा यो ट्रेक उपयुक्त हुन्छ ।

यात्रा अवधिः ७ देखि १२ दिन ।
यात्रा साधनः गाडीमा पोखराबाट नयाँपुलसम्म, त्यसपछि पैदल यात्रा ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति रु. २०,००० देखि रु. ३५,०००।
अपनाउनु पर्ने सावधानीः मौसममा अचानक परिवर्तन आउन सक्छ । त्यसैले वर्षा र जाडोबाट बच्न आवश्यक तयारी गर्नुपर्छ ।
प्रमुख आकर्षण स्थलः अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण बेसक्याम्प, घोरेपानी, पुन हिल र प्राकृतिक झरनाहरू ।
प्रमुख स्थानबाटको दूरीः पोखराबाट नयाँपुलसम्मको दूरी लगभग ४५ किलोमिटर छ ।
आवश्यक सामग्रीः ट्रेकिङ जुत्ता, न्यानो कपडा, वाटरप्रुफ ज्याकेट, सनग्लास, प्राथमिक उपचार सामग्री र टर्चलाइट ।
६. सगरमाथा बेसक्याम्प
सगरमाथा बेसक्याम्प ट्रेक एक साहसिक र अविस्मरणीय यात्रा हो, जसले तपाईंलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्पमा पु¥याउँछ । दशैँको समयमा मौसम सफा र दृश्यावलोकनका लागि उपयुक्त हुने हुँदा यो ट्रेकको लागि उत्तम समय मानिन्छ ।

यात्रा अवधिः १२ देखि १५ दिन ।
यात्रा साधनः हवाई मार्गबाट काठमाडौंबाट लुक्लासम्म पुगेर त्यसपछि पैदल यात्रा सुरु गर्नुपर्छ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति रु. ७०,००० देखि रु. १,५०,००० वा सोभन्दा बढी (गाइड, पोर्टर, खानपान र आवास सहित) ।
अपनाउनु पर्ने सावधानीः यो एक उच्च लेकको यात्रा हो, त्यसैले ’अल्टिच्युड सिकनेस’बाट बच्नका लागि पर्याप्त समय लिएर बिस्तारै उकालो चढ्नुपर्छ ।
प्रमुख आकर्षण स्थलः सगरमाथा हिमाल, खुम्बु आइसफल, कालापत्थर, तेङ्बोचे गुम्बा र शेर्पा संस्कृति ।
आवश्यक सामग्रीः उच्च गुणस्तरको न्यानो कपडा, हिउँबाट बचाउने ज्याकेट, ट्रेकिङ जुत्ता, टर्चलाइट, पावर बैंक, प्राथमिक उपचार सामग्री, र व्यक्तिगत औषधीहरू ।
७. लाङटाङ
लाङटाङ ट्रेक नेपालको तेस्रो सबैभन्दा लोकप्रिय ट्रेकिङ क्षेत्र हो । यो काठमाडौंको नजिकै रहेकाले रमाइलो तथा प्राकृतिक सुन्दरताले भरिएको छ । यहाँका हिमाल, गुफा, गोसाइँकुण्ड र वरपरका गाउँहरूले यसलाई दशैँको बिदाको लागि उत्तम बनाउँछन् ।

यात्रा अवधिः ७ देखि १० दिन ।
यात्रा साधनः गाडी वा बसमा काठमाडौंबाट स्याफ्रुबेसीसम्म, त्यसपछि पैदल यात्रा ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति रु. २०,००० देखि रु. ३५,०००
अपनाउनु पर्ने सावधानीः भूकम्प र पहिरोको सम्भावना भएकाले मौसम र बाटोको अवस्थाबारे जानकारी लिनु उचित हुन्छ ।
प्रमुख आकर्षण स्थलः लाङटाङ हिमाल, क्यान्जिन गोम्पा, याक फार्म र स्थानीय संस्कृति ।
प्रमुख स्थानबाटको दूरीः स्याफ्रुबेसीबाट लाङटाङ गाउँसम्मको दूरी लगभग २८ किलोमिटर छ ।
आवश्यक सामग्रीः ट्रेकिङ जुत्ता, न्यानो कपडा, रेनकोट, पानीको बोतल, व्यक्तिगत औषधी र स्न्याक्स ।
८. पाँचपोखरी, सिन्धुपाल्चोक
पाँचपोखरी पाँचवटा पवित्र तालहरूको समूह हो । यो क्षेत्र ट्रेकिङ र प्राकृतिक सुन्दरता मन पराउनेहरूको लागि उत्तम गन्तव्य हो । यो ट्रेकले शान्त र रमणीय वातावरणमा हिमालको दृश्यहरूको अनुभव दिन्छ ।

यात्रा अवधिः ४ देखि ६ दिन ।
यात्रा साधनः बस वा जीपमा काठमाडौंबाट बाह्रबिसे वा मेलम्चीसम्म, त्यसपछि पैदल यात्रा ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति रु. १०,००० देखि रु. २०,०००
अपनाउनु पर्ने सावधानीः बाटो केही ठाउँमा कठिन र ठाडो हुन सक्छ । त्यसैले राम्रो ट्रेकिङ जुत्ता लगाउनु आवश्यक छ ।
प्रमुख आकर्षण स्थलः पाँचवटा पवित्र ताल, हिमालको सुन्दर दृश्य र प्राकृतिक सौन्दर्य ।
आवश्यक सामग्रीः ट्रेकिङ जुत्ता, न्यानो कपडा, वर्षाबाट बचाउने ज्याकेट, खानेकुरा र पानीको बोतल ।
९. खप्तड
खप्तड क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिका लागि प्रख्यात छ । यसलाई खप्तड बाबाको तपोभूमि पनि भनिन्छ । दशैँको समयमा यसको हरियाली र खुला मैदानले मनमोहक दृश्य प्रस्तुत गर्छ ।

यात्रा अवधिः ५ देखि ७ दिन ।
यात्रा साधनः हवाई मार्गबाट काठमाडौंबाट धनगढी वा नेपालगन्जसम्म पुगेर त्यसपछि गाडी वा बसमा सिलगढी, डोटी हुँदै पैदल यात्रा सुरु गर्न सकिन्छ ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति रु. १५,००० देखि रु. ३०,०००
अपनाउनु पर्ने सावधानीः यात्रा गर्दा आवश्यक सामग्री र खानपानको व्यवस्था आफैँ गर्नुपर्ने हुन सक्छ किनकि त्यहाँ धेरै सुविधा उपलब्ध छैनन् ।
प्रमुख आकर्षण स्थलः खप्तड ताल, खप्तड बाबाको आश्रम, त्रिवेणी मन्दिर र हरियाली मैदान ।
आवश्यक सामग्रीः न्यानो कपडा, पानीको बोतल, खाजा, टर्चलाइट, प्राथमिक उपचार सामग्री र आरामदायी जुत्ता ।
१०. रारा
रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । यसको पानीको रङ मौसमअनुसार परिवर्तन भइरहन्छ । यो क्षेत्र प्राकृतिक सुन्दरताका लागि प्रख्यात छ । दशैँको समयमा मौसम राम्रो हुने हुँदा राराको यात्रा गर्नु उपयुक्त हुन्छ ।

यात्रा अवधिः ५ देखि ७ दिन
यात्रा साधनः हवाई मार्गबाट काठमाडौंबाट नेपालगन्ज हुँदै मुगुको ताल्चासम्म पुगेर त्यसपछि पैदल यात्रा वा गाडीमा यात्रा गर्न सकिन्छ । सडक मार्गबाट पनि मुगुसम्म पुग्न सकिन्छ ।
लाग्न सक्ने खर्चः प्रतिव्यक्ति रु. २०,००० देखि रु. ५०,०००
अपनाउनु पर्ने सावधानीः यो यात्रा केही चुनौतीपूर्ण हुन सक्छ । त्यसैले यात्रा गर्नुअघि मौसम र बस्ने ठाउँको बारेमा जानकारी लिनुपर्छ ।
प्रमुख आकर्षण स्थलः रारा ताल, रारा राष्ट्रिय निकुञ्ज र त्यस वरपरको प्राकृतिक सुन्दरता ।
प्रमुख स्थानबाटको दूरीः ताल्चा विमानस्थलबाट रारा तालसम्मको दूरी लगभग २ किलोमिटर छ ।
आवश्यक सामग्रीः न्यानो कपडा, वर्षाबाट बचाउने ज्याकेट, क्यामेरा, पानीको बोतल, स्न्याक्स र प्राथमिक उपचार सामग्री ।
यी माथिका १० उत्कृष्ट गन्तव्यहरुसँगै अन्य धेरै गन्तव्यहरु नेपालमा छन् । विश्वको अग्लो ठाउँमा रहेको तिलिचो ताल, इलामको कन्याम, तेह्रथुम र संखुवासभाको साँधमा रहेको गुफा
पोखरी, भेडेटार, सोलुखुम्बुको रात्नाङे डाँडा लगायत कयौं घुम्न र रम्न मिल्ने स्थलहरु छन् ।
यो पटकको दशैंमा तपाई पनि घुम्ने कि ?








