काठमाडौं। नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने भएकी छन्।
आर्यतारालाई आज दिउँसो १२:०५ बजेदेखि १२:१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ।
काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो ।
जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ।
कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।








