जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कमजोर रहेको छ । यद्यपी बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

यस्तै,आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थान र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै,कोशी प्रदेशको तराइ र पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिँदै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।