आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैँ
- साउन २७, २०८२
- 0
आज संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दै छ ।
दिनको १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
साथै, सभामुखले नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सदस्यमा निर्वाचित, प्रजातन्त्र र लोकतन्त्र स्थापना एवम् संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल सार्कीको ७४ वर्षको उमेरमा मिति २०८२ साल साउन २३ गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको आजको बैठकमा उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।
यस्तै राष्ट्रिय सभाको बैठक दिन १ः१५ बजे बस्ने भएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
साथै, राष्ट्रिय सभा अध्यक्षले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।











