भौगोलिक स्थान कुनै देशको सम्भावनामा बाधक हुनु हुदैन : प्रधानमन्त्री ओली
- साउन २१, २०८२
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोग सम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण–दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका छन् ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले भौगोलिक स्थान कुनै देशको सम्भावनामा बाधक हुनु नहुने बताउँदै प्रविधि र अन्तरजोडिएको विश्वले यसलाई चिर्ने सम्भावना प्रदान गरेको धारणा व्यक्त गरे ।
यस्तै, उनले भूमि अवरुद्ध देशहरू अझै पनि संरचनात्मक समस्याबाट ग्रस्त रहेको, जसलाई हालका विश्वव्यापी संकटहरू – जस्तै भू–राजनीतिक तनाव, खाद्य तथा ऊर्जा असुरक्षा, मुद्रास्फीति र राजस्वको अभावले झनै जटिल बनाएको उल्लेख गरे ।
‘विकास सहयोग राष्ट्रिय प्राथमिकतासँग मेल नखाने अवस्थामा दीर्घकालीन परिणाम हासिल गर्न कठिन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले जलवायु परिवर्तनका असरहरूले भूमि अवरुद्ध राष्ट्रहरूले हासिल गरेका विकास उपलब्धिहरू मेटिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, वर्तमान संकटमा आशाको झल्को ल्याउने कार्यक्रमको रूपमा ‘अवाजा कार्ययोजना’ लाई उल्लेख गरे ।
दक्षिण–दक्षिण सहयोगको महत्त्वमाथि प्रकाश पार्दै उनले यसले समानता, साझा स्वामित्व र पारस्परिक सम्मानको आधारमा सीप आदान–प्रदान, प्रविधि स्थानान्तरण तथा क्षमता विकासमार्फत आवश्यकतालाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।











