भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृतलाई विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाइयो
- साउन ५, २०८२
- 0
अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।
विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । “विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,” गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, “दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।” उनले दरबन्दीअनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए ।











