यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

भ्रष्टाचार गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छ : सञ्चारमन्त्री गुरुङ
news-details

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको स्पष्ट पारेका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनको जिकिर छ । राजीनामा दिएका मन्त्रीमाथि छानबिन हुने उनले बताए । मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताए ।

‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ । ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग होे । ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’ उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ’ उनले भने ।

त्यस्तै, प्रवक्ता गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताए ।

असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया