प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची
प्रचण्डले सम्बोधन गर्ने, आफ्ना सबै सांसदलाई उपस्थित हुन माओवादीको निर्देशन
- असार ३०, २०८२
- 0
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, सभाका सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
यसैबीच आजको प्रतिनिधिसभा बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने भएका छन् ।
आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।










