रोटरी क्लब अफ राजधानी र रोटर्याक्ट क्लब अफ राजधानीको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न, नयाँघरेलाई रोटरीको सम्मान
- असार २२, २०८२
- 0
आज काठमाडौंमा रोटरी क्लब अफ राजधानीको २४औँ र रोटर्याक्ट क्लब अफ राजधानीको २२औँ संयुक्त पदस्थापन समारोह सम्पन्न भयो । नक्सालस्थित अरण्य होटलमा बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कुमारप्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष शिवराज भट्टलाई शुभकामना व्यक्त गर्दै उहाँको कार्यकालमा क्लबको भूमिका तथा गरिमा बढ्ने कुरामा विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले सम्बोधन गरेका थिए । उनले राजधानी जस्तो उदाहरणीय क्लब रहेको र यसले यस रोटरी वर्षमा पनि महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा व्यक्त गरे ।
यस समारोहमा रोटरी क्लब अफ राजधानीले निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई मानार्थ सदस्यता प्रदान गरी सम्मान गर्यो । क्लबका अध्यक्ष शिवराज भट्टले प्रमाणपत्र र डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरी पिन प्रदान गरी नयाँघरेलाई सम्मानित गरेका थिए ।
नयाँ सदस्य सुगम पौडेललाई पनि स्वागत गरिएको थियो । यसैगरी, डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले नेपाल प्रहरीका एसएसपी कुशल रानाभाटलाई ह्वीलचेयर हस्तान्तरण गरे ।
पदस्थापन समारोहमा शिव राज भट्टले १११६औँ रोटरी साप्ताहिक बैठक र सदिक्षा कार्कीले ६१०औँ बैठक आह्वान गरे ।
निवर्तमान अध्यक्ष कुमारप्रसाद गौतम र मुना गौतमलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गरियो। रोटर्याक्टका निवर्तमान अध्यक्ष अनुज गिरीलाई पनि प्रशंसापत्र प्रदान गरियो।
कार्यक्रमको अन्त्यमा प्रेसिडेन्ट इलेक्ट रश्मी पोखरेलले धन्यवाद ज्ञापन गरेकी थिइन्। समारोहमा विभिन्न क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।












