संसदमा ऊर्जामन्त्री खड्काको जवाफ : ‘टेक एन्ड पे’को व्यवस्था संशोधन हुन्छ
- असार ९, २०८२
- 0
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’को व्यवस्था संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले जलविद्युत क्षेत्रमा ‘टेक एन्ड पे’ लाई संशोधन गरी ‘टेक अर पे’ बनाउन पत्र पठाएको जानकारी दिए ।
जलविद्युत प्रवर्द्धक र सांसदले सरकारले ल्याएको नयाँ नीतिको विरोध गरेपछि ऊर्जा मन्त्रालयले नै अर्थ मन्त्रालयलाई बजेटमा संशोधन गर्न पत्र पठाएको जानकारी दिएका हुन् ।
उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ । संशोधन भएर आउने विश्वास लिएको छु’ मन्त्री खड्काले भने ।











