पहाडी भागका केहि स्थानहरूमा वर्षाको सम्भावना
- जेष्ठ २९, २०८२
- 0

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । त्यस्तै, कोशी, मधेश, बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाखे जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।