पाकिस्तानमा समस्यामा रहेका विद्यार्थीलाई नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयको आग्रह
- बैशाख २६, २०८२
- 0

भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावास परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
शुक्रबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ,’ मन्त्रालयले भनेको छ।
मन्त्रालयले वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुद इस्लामावादस्थित दूतावासको सम्पर्क व्यक्ति रहेको पनि जानकारी दिएको छ।