वीरगञ्जमा मध्यान्ह १२ बजेसम्म कर्फ्यू जारी, सर्वदलीय बैठक बोलाइयो
- चैत्र ३१, २०८१
- 0

पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा तनाव बढेसँगै ‘कफ्र्यू’ आदेश जारी गरेको छ । कर्फ्यूका कारण आइतबार बिहान वीरगञ्ज सुनसान देखिएको छ ।
वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि हिजो बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरेको छ ।
जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कफ्र्यू आदेश जारी गरेको छ ।
यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कफ्र्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।
यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सर्वदलीय बैठक बोलाएका छन् । प्रशासकीय अधिकृत दीपक पटेलले सिडिओले अहिले सर्वदलीय बैठक बोलाएको र छलफल भइरहेको बताए ।