‘१७ हजार प्रचण्डले मार्यो भन्छन्, हत्याको त कुरै छाडौ मैले एक जनालाई पिटेको पनि छैन’
- चैत्र ३०, २०८१
- 0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका छन् ।
शनिबार खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले छिट्टै पूर्णता पाउने बताएका हुन् । संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा सबै पक्ष सहमत भएकाले त्यसको काम तीव्रताका साथ अघि बढ्ने उनले बताए ।
उनले भने, ‘हाम्रो नियती नै त्यस्तै छ । संविधानसभा पनि दुईपटक गठन गरेर संविधान जारी ग¥यौँ । सिफारिस समिति पनि तीनपटक गठन भइसक्यो । यसपटक यसले आयोगलाई छिट्टै पूर्णता दिन्छ ।’
यसैगरी प्रचण्डले एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको बताए । उनले युद्धमा राज्य पक्षले कति मार्यो ? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त भन्दै प्रश्न गरे ।
उनले भने, ‘सेना समायोजन र हतियार व्यवस्थापनको कुरामा पनि सबैभन्दा बढि जोखिम माओवादी केन्द्रले नै उठायो । आफ्नो पार्टी विभाजनमा जाने देख्दादेख्दै पनि हतियार व्यवस्थापन आजकै दिन हुनुपर्छ भएन भने भोलि थुप्रैको हत्या हुनसक्छ भन्न सक्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । यसको डिफेन्ड गर्न, माओवादीकै लिडरसिप हो भन्न तपाईंहरुलाई किन गाहे भैइराखेको छ ? हतियार व्यवस्थापन र सेना समायोजन जोखिम उठाएर पनि माओवादीले टुङ्ग्याएकै हो भन्न तपाईंहरुलाई कठिन किन भइराखेको छ ? एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिराख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्यो ? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त ?’
साथै उनले १७ हजार प्रचण्डले मार्यो भन्छन् तर आफूले छैन अहिलेसम्म हत्याको त कुरै छोडिदिनुस् एक जनालाई पनि नपिटेको बताए ।
उनले भने, ‘१७ हजार माओवादीले मार्यो, प्रचण्डले मार्यो भन्छन् । तर मैंले एक जनालाई पिटेको पनि छैन । अहिलेसम्म हत्याको त कुरै छोडिदिनुस् । युद्धको नेतृत्व मैले गरेको हो । शान्ति प्रक्रियामा आइसकेपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै छु । तर यति धेरै गलत आरोप लागिराख्दा कोही पनि यसमा बोलेको देखेको छैन । यसरी नबोल्दा शान्ति प्रक्रियालाई साँचो अर्थमा निश्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट गर्न सकिँदैन भने हामीले कसरी समाजलाई एउटा नयाँ स्थायित्व र रुपान्तरणतिर लान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’
यसैगरी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा सबैको सहकार्य हुन आवश्यक रहेको बताए । उनले अरु धेरै कुरामा हामी पक्ष विपक्ष छौं तर संक्रमणकालीन न्याय सम्बन्धी विषयमा चाँही सत्ता प्रतिपक्ष बन्न नहुने बताए ।